काठमाडौँ । काठमाडौँको बत्तीसपुतलीस्थित कुमारी टोलमा शम्भु धिमालको हत्यामा संलग्न ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
हत्यामा सङ्लन चारै जना नाबालक रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । प्रहरीले उनीहरूको पहिचान सार्वजनिक गरेको छैन ।
चार जना नाबालकले मोरङ घर भएका २४ वर्षीय शम्भु धिमालको हत्या गरेका हुन् । मोरङ घर भएर गौशाला बस्ने २३ वर्षीय मनिष चौधरी र शम्भु धिमाल शनिवार साँझ करिब ८ बजेतिर काठमाडौँ–९ स्थित कुमारी टोलमा हिँड्दै थिए । विपरीत दिशाबाट आएका ४ जना युवकसँग सडकमा उनी ठोक्किएका थिए । चार जनामध्ये एउटाले सोधे, ‘किन ठेलेको, निहुँ खोजेको हो रु’
सो क्रममा भएको विवादमा अचानक समूहबाट एक जना नाबालकले धिमाललाई चक्कु प्रहार गरे । धिमालको पेट, छाती र ढाडमा चोट लागेको छ । सँगै गएका मनिष चौधरी पनि सामान्य घाइते छन् ।
प्रहरी वृत्त गौशालाका डीएसपी केशव थेवे नेतृत्वको टिमले घटनास्थलबाट भाग्दै गरेको अवस्थामै ३ जना र पछि अर्का नाबालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले भने, ‘एकैछिनमा घटना भएछ, नाबालकले चक्कु बोकेर हिँडेका रहेछन् ।’
गौशालाका रैथाने उनीहरू स्थानीय शारदा स्कुलमा ९ र १० कक्षामा पढ्छन् ।