काठमाडौं । सफ्वयर कम्पनी दियालो टेक्नोलोजी कम्पनीले खानेपानी उपभोक्ता समितिमा बिलिङ्ग, जिसआई म्यापिङ र वेबसाइट बनाउने भन्दै मनलाग्दी शुल्क उठाएको आरोप लगेको छ ।
राष्ट्रिय साना सहरी खानेपानी सरसफाइ उपभोक्ता महासंघमा खानेपानी उपभोक्ता समितिहरूले दियालो टेक्नोलोजीजविरुद्ध उजुरी दिएसँगै कम्पनीको धन्दा सार्वजनिक भएको हो ।
काठमाडौँमा मुख्य कार्यालय रहेको दियालो टेक्नोलोजीले देशभरका ८५२ खानेपानी उपभोक्ता समितिमा सफ्टवेयर सिस्टम लागू गर्न वेबसाइट बनाएको छ ।
त्यस्तो सुविधा प्रदान गरेबापत दियालोले उपभोक्ता समितिसँग मनलाग्दी शुल्क असुल्ने गरेको आरोप लागेको हो । उपभोक्ता समितिहरूले दियालोलाई दिनुपर्ने शुल्क उपभोक्तामार्फत उठाएर बुझाउँदै आएका छन् । त्यसबाट उपभोक्तामाथि भार थपिएको छ ।
दियालोले मनलाग्दी शुल्क लिएबारे छानबिन गर्न राष्ट्रिय साना सहरी खानेपानी सरसफाइ उपभोक्ता महासङ्घमा विभिन्न खानेपानी उपभोक्ता समितिबाट उजुरी परेको छ ।
दियालो टेक्नोलोजीजले बिलिङ सफ्टवेयर बनाउँदा प्रतिवेबसाइटबाट ५० हजारदेखि ३ लाखसम्म वार्षिक नवीकरण शुल्क लिने गरेको छ । नेपालको ठूलो खानेपानी उपभोक्ता समितिमध्येको तुलसीपुर खानेपानी आयोजनाबाट दियालोले २८ लाख रुपैयाँसम्म असुलेको आरोप छ ।
नेपालमा ८२ प्रतिशत सर्वसाधारणले उपभोक्ता समितिमार्फत खानेपानी उपभोग गरिरहेको छन् ।