यी हुन् हर्क साम्पाङको दलबाट सिफारिस भएका समानुपातिक सांसद

0 Shares

काठमाडौं । यसपटकको प्रतिनिधिसभा निर्वाचनबाट पाँचौं ठूलो दल बनेको हर्क साम्पाङ नेतृत्वको दल श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने भएको छ।

पार्टीका केन्द्रीय सदस्य समीर तामाङले दिएको जानकारी अनुसार पार्टीले आदिवासी महिला क्लस्टरबाट हेटौंडाकी मन्दिरा मोक्तान, खस आर्य महिलाबाट अम्बिका सङ्ग्रौला, दलित कोटाबाट सुर्खेतकी राधिका रम्तेल र आदिवासी जनजातिबाट पूर्व गोर्खा लाहुरे पूर्ण लिम्बूको नाम सिफारिस गरेको हो।

समानुपातिकतर्फ ३ लाख ८५ हजार ९०२ मत पाएको पार्टीले प्रत्यक्षतर्फ तीन क्षेत्रमा जित हासिल गरेको छ। समानुपातिक समेत गरी अब श्रम संस्कृतिबाट प्रतिनिधि सभामा ७ जना सांसद हुनेछन्।

प्रत्यक्षमा सुनसरी १ बाट हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका छन्।

समानुपातिक सांसद बन्ने आकांक्षी धेरै जना हुँदा श्रम संस्कृति पार्टीमा विवादसमेत भएको थियो। विवादकै कारण समानुपातिक बन्द सूचीमा रहेका उम्मेदवार जीवन बिष्ट र मीना सिंगकले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए।

समानुपातिक सांसद बन्न लबिइङ तीव्र भएपछि साम्पाङले यसअघि फेसबुकबाटै असन्तुष्टि प्रकट गरेका थिए।

‘भात खाऊ, मेरो टाउको नखाऊ’ भन्दै लेखेका उनले समानुपातिक सांसदका लागि दबाब दिनेहरूलाई पार्टीबाट निकाल्ने चेतावनी समेत दिएका थिए।

सम्बन्धित समाचार