काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक मत गणना अन्तिम चरणमा पुगेको छ ।
निर्वाचन आयोगले समानुपातिकको इलाम १ र गोरखा १ को गणना सकिन लागेको भन्दै यसपछि अन्तिम नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
‘समानुपातिकको मत गणना अन्तिम चरणमा छ, अहिले इलाम १ र गोरखा १ को गणना भइरहेकाले त्यो सकिएपछि अन्तिम नतिजा सार्वजनिक हुन्छ,’ आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भने ।
आयोगले अहिलेसम्म समानुपातिकतर्फ एक करोड सात लाख ३९ हजार ११५ मत गणना गरिसकेको छ । जसमध्ये रास्वपाले ५१ लाख ३९ हजार २३५ मत ल्याउँदै अग्रता बनाएको छ । नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत ल्याएर दोस्रो स्थानमा छ ।
त्यस्तै, नेकपा एमालेले १४ लाख ४८ हजार ८५४ मत, नेपाली कम्युनिष्ट पार्टीले ८ लाख ५ हजार ७७३ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख ७८ हजार ६४९, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २९ हजार ४७२, जनता समाजवादी पार्टीले १ लाख ७४ हजार ३१७, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ७१ हजार ५०१, जनमत पार्टीले ७८ हजार ९७३ मत पाएका छन् ।