काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग झण्डै ५० हजार मतले पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब आफू पक्राउ पर्ने बताएका छन् । उनले रास्वपा सरकारले आफूमाथि धरपकड गर्ने तयारी भइसकेको ब्रिफिङ गरी यस्तो बताएका हुन् ।
पराजित भएसँगै ओलीलाई भेट्न गुण्डु पुगेका एमालेका केही केन्द्रीय सदस्य र नेताहरुसँग ओलीले रास्वपाको सरकारले विभिन्न हतकण्डा अपनाउने र आफूलाई जेल हाल्ने प्रयास गर्ने बताएका हुन् । ओलीलाई भेटेर निस्किएपछि रास्वपाको बहुमतको सरकार बनेपछि अनेक उधुम गर्न खोज्ने बताए ।
‘हामीलाई धरपकड गर्ने, जेल हाल्ने तयारी छ । सबै परिस्थितिको सामना गर्न तयार हुनुपर्छ । भदौ २३ र २४ यता जेजस्ता घटनाहरु भए सबै यही परिस्थिति सिर्जना गर्नका लागि थियो भन्ने उहाँको कुरा छ,’ उनले भने ।
चुनावी परिणाम आइरहँदा ओली निवास गुण्डुमा नेता कार्यकर्ता पातलो देखिएको छ । ओलीले नेपालमा संविधान र लोकतन्त्र स्थापना गर्ने दलहरुलाई सिध्याउन लामो समयदेखिको भूराजनीतिक डिजाइन सफल बनाउन खोजिएको बताएका छन् ।