काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेलाई आफूले पनि फसाएको भन्दै नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
उनले आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’विरुद्ध कानूनी दायरामा जाने चेतावनी दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले आफ्नो अभिव्यक्त गरेका हुन् ।
‘नेपालको कानूनले कसैलाई बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन, नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको छ,’ पारसले लेखेका छन् ।
नेपाली क्रिकेटसँग सम्बन्धित विभिन्न पक्षहरू र सन्दीप लामिछानेसँग जोडिएको पछिल्लो मुद्दामा सम्मानित जिल्ला अदालतबाट पहिलो तहको फैसला भएको भन्दै उनले उच्च अदालतबाट अन्य कुरा प्रष्ट हुँदै जाने उनको भनाइ थियो ।
‘यो सबैका बीचसमेत तर्कहीन तरिकाले मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले म माथि भैरहेको नियोजित षड्यन्त्रलाई ढिलो चाँडो कानुनी दायरामा ल्याउने समेत जानकारी गराउन चाहन्छु,’ उनले थपे ।
यसअघि सन्दीप लामिछानेले मंगलबार मात्रै आफूमाथि षड्यन्त्र भएको बताएका थिए । उनले आफूमाथि कानूनभन्दा अनुमान र एकतर्फी भनाइलाई आधार बनाएर दोषी ठहर गरेको दाबी गरेका थिए ।
यस्तै, उनले आफूविरुद्ध घटना घटेको नभई घटाइएको दाबी गर्दै सबैको नाम विस्तार भन्दै जाने बताएका थिए । ‘म यो घटनाको निर्दोष पात्र हुँ, मलाई यो घटना कसले कसरी घटाउन लगाएको राम्रै थाहा छ, त्यसमा तपाईंहरूको पनि सहभागिता छ, धेरै खोल्न बाँकी छ, फेरि भन्छु यो घटना घटेको होइन घटाइएको हो,’ उनले लेखे ।
उनले आफू र गौशाला २६ बीचको सम्बन्ध प्रमाणित गरे फाँसीमा चढ्न तयार भएकोसमेत बताएका थिए । ‘ती तथाकथित र भनौदा सामाजिक अभियन्तालाई मेरो खुल्ला चुनौती हो, उहाँहरूलाई मेरो र गौशाला २६ बीच जुनसुकै सम्बन्ध तथ्य र प्रमाणले साबित गर्नुहोस, यदि म दोषी देखिन्छु भने मलाई फासीमा चढाइयोस्, मलाई ८ वर्षले पुग्दैन,’ उनले आफ्नो सामाजिक सञ्जालमा भनेका थिए ।