साउदी स्थित अमेरिकी दूतावासमा विस्फोट

0 Shares

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी मंगलबार बिहान भीषण ड्रोन आक्रमण भएको छ। विदेशी कूटनीतिक नियोगहरू रहेको उच्च सुरक्षा क्षेत्र (डिप्लोम्याटिक क्वाटर) मा भएको यस हमलाले मध्यपूर्वको सुरक्षा संवेदनशीलतालाई पुनः सतहमा ल्याइदिएको छ।

साउदी रक्षा मन्त्रालयका अनुसार विस्फोटक पदार्थ बोकेका दुईवटा ड्रोन दूतावास परिसरमा खसेका थिए। जसका कारण दूतावासको भौतिक संरचनामा क्षति पुग्नुका साथै सामान्य आगलागी समेत भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले तीनवटा छुट्टाछुट्टै स्रोतलाई उद्धृत गर्दै लेखेको छ, “बिहान सबेरै ठूलो विस्फोटको आवाजसँगै दूतावास क्षेत्रबाट धुवाँको मुस्लो निस्किएको देखिएको थियो, यद्यपि आगलागीलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएका थिए।“ स्थानीय प्रत्यक्षदर्शीका अनुसार डिप्लोम्याटिक क्वाटरमा एकपछि अर्को गरी ठूला आवाजहरू सुनिएका थिए।

साउदी अरबका सुरक्षा अधिकारीहरूले घटनाको पुष्टि गर्दै आक्रमणकारीको खोजी भइरहेको बताएका छन्। साउदी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले सरकारी सञ्चारमाध्यमसँग भनेका छन्, “साउदी अरबको सार्वभौमसत्ता र यहाँ रहेका कूटनीतिक नियोगहरूको सुरक्षामा आँच पुरÞ्याउने कुनै पनि प्रयास अक्षम्य हुनेछ। हामीले हाम्रा साझेदारहरूसँग मिलेर यस कायरतापूर्ण हमलाको प्राविधिक अनुसन्धान सुरु गरिसकेका छौं।“

पछिल्लो समय मध्यपूर्वमा इरान समर्थित समूहहरू र अमेरिकी गठबन्धनबीच बढ्दो द्वन्द्वका कारण साउदी अरबका सामरिक क्षेत्रहरू जोखिममा पर्दै आएका छन्। विशेषगरी रेड–सी र छिमेकी मुलुकहरूमा जारी युद्धको बाछिटा रियादसम्म पुग्दा क्षेत्रीय सुरक्षा सन्तुलन डगमगाएको छ। यसअघि तेल खानी र विमानस्थल लक्षित हुने गरेका हमला कूटनीतिक क्षेत्रसम्म विस्तार हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

अमेरिकी दूतावासले ’एक्स’ मार्फत सुरक्षा ’अलर्ट’ जारी गर्दै आफ्ना नागरिकलाई सुरक्षित स्थानमा बस्न र गैर–आवश्यक यात्रा नगर्न अपिल गरेको छ। घटनापछि रियादभरिको सुरक्षा व्यवस्थामा उच्च कडाइ गरिएको छ।

सम्बन्धित समाचार