0
Shares
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जापान सरकारले नेपाललाई आर्थिक सहयोग गरेको छ ।
चुनाव सम्पन्न गर्न नेपाललाई जापानले आफ्नो खाद्य सहायता परियोजनाअन्तर्गतको काउन्टरपार्ट फन्डमार्फत ३९ करोड ७५ लाख रुपैयाँ सहयोग गरेको हो ।
जापानी दूतावासका अनुसार उक्त रकम निर्वाचन व्यवस्थापन सफ्टवेयर अद्यावधिक गर्न, निर्वाचनमा खटिने कर्मचारीलाई तालिम दिन र मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न खर्च हुनेछ ।
नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठको अवसरमा सहयोग उपलब्ध गराइएको जनाइएको छ । लामो समयदेखि नेपालको विकास साझेदारका रुपमा रहेको जापानले यस पटक निर्वाचन सहयोगले दुई देशबीचको मित्रता र आपसी सहयोगलाई अझ प्रगाढ बनाउने विश्वास लिएको छ ।