काठमाडौं । एक जना सचिवको घरबाट आधा अर्ब रुपैयाँ नगद फेला परेको कुरा सुन्दा सुरुमा कसैलाई विश्वास नलाग्न सक्छ ।
तर, भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री आलमगीर आलमका सचिव सञ्जीव कुमार लालको घरबाट ३५ करोड २३ लाख भारु अर्थात ५६ करोड ३५ लाख रुपैयाँ बरामद भएको छ ।
प्रवर्तन निर्देशनालय (ईडी)को छापामा रकम बरामद भएको भारतीय मिडियाले जनाएको छ । बरामद नोट गणना गर्न विभिन्न बैंकबाट नोट गणना गर्ने मेसिन ल्याएर गणना गरिएको बताइएको छ ।
सञ्जीव कुमार झारखण्ड प्रशासनिक सेवाको पहिलो व्याचका अधिकारी हुन् । यसअघि उनी भाजपाको रघुवीर दास, सीपी सिंह, अर्जुन मुण्डा र विमला प्रधान सरकारमा मन्त्री हुँदा सचिव थिए ।
ईडीका अधिकारीले सोमबार बिहान सञ्जीव कुमारको सरकारी निवास र उनका सहायक जहाँगीर आलमको निजी निवासमा छापा मारेका थिए । यसबाहेक एक कम्पनीमा सञ्चालक रहेका व्यापारी मुन्ना सिंह, उनकी श्रीमतीसहित ग्रामीण विकास विभागका इञ्जिनियर कुलदीप मिञ्ज र विकास कुमारको घरमा छापा मारिएको थियो ।
यस अवधिमा जहाँगिर आलमको घरबाट सबैभन्दा बढी नगद बरामद भएको छ । उनीबाट ३१ करोड २० करोड भारु रुपैयाँ बरामद भएको छ । यस छापामारीमा केही सरकारी कागजपत्र समेत बरामद भएको छ ।