काठमाडौं । विश्व बजारमा सुनको मूल्यमा उतारचढाव भएसँगै यसको असर नेपाली बजारमा पनि परेको छ । अघिल्लो साताको शुक्रबार एक तोला सुनको मूल्य दुई लाख ९१ हजार कायम भएको थियो ।
शुक्रबारको तुलनामा यो साताको पहिलो दिन आइतबार प्रतितोला ९ हजार ५०० सय रुपैयाँ बढ्दै तीन लाख ५०० रुपैयाँ पुगेको थियो ।
यस्तै, गत आइतबारको तुलनामा सोमबार सुनको मूल्य तोलामा ४ हजार १ सय रुपैयाँले बढेर ३ लाख ४ हजार ६ सय रुपैयाँ पुगेको थियो ।
साताको तेस्रो दिन मंगलबार पनि सुनको मूल्य बढेको थियो । मंगलबार सुनको मूल्य प्रतितोला तीन लाख ५ हजार ५०० कायम भएको थियो । मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँ बढेको थियो ।
यसैगरी, बुधबार पनि सुनको मूल्य वृद्धि भएको थियो । मंगलबारको तुलनामा १ हजार १०० रुपैयाँ बढ्दै बुधबार प्रतितोला तीन लाख ६ हजार ६०० पुगेको हो ।
साताको पाँचौँ कारोबार दिन बिहीबार सुनको मूल्य सामान्य घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ३ लाख ६ हजार ५०० रुपैयाँ कायम भएको हो ।
साताको अन्तिम कारोबार दिन हिजो शुक्रबार स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको थियो । शुक्रबार एक तोला सुनको मूल्य तीन लाख ३ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो ।
यस्तै चाँदीको मूल्यमा पनि साताभार घटबढ भएको छ । अघिल्लो साताको शुक्रबार प्रतितोला चार हजार ७१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ५ हजार रुपैयाँ कायम भएको छ ।