काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मधेस प्रदेशको चुनावी यात्रामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) कांग्रेस सभापति गगन थापा उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ मा नजाने भएका छन् ।
मंगलबार सप्तरीबाट मधेस प्रदेशका जिल्लामा चुनावी अभियान सुरु गरेका बालेन गएराति बर्दिबास पुगेर बसेका थिए । हिजो सप्तरी, सिराहा, धनुषा र महोत्तरीका विभिन्न ठाउँमा पुगेर रास्वपाको पक्षमा मत मागेका बालेन बुधबार बिहानदेखि सर्लाहीसहित बाँकी मधेसका जिल्लामा जाने भएका छन् ।
सर्लाही ४ मा रास्वपाले पूर्वकांग्रेस नेता डा. अमरेश सिंहलाई उम्मेदवार बनाएको छ । उनी सोही क्षेत्रबाट पटक पटक विजयी हुँदै आएका छन् । उनले आफ्नो क्षेत्रमा बालेनलाई ल्याएर रास्वपाको पक्षमा माहोल बनाउन लागिरहँदा बालेन उक्त क्षेत्रमा नजाने भएका हुन् ।
सिंहले गएराति सामाजिक सञ्जालमा बालेन बुधबार आफू उम्मेदवार रहेको सर्लाही क्षेत्र नम्बर ४ का विभिन्न ठाउँमा आउने भन्दै कार्यक्रम तालिका सार्वजनिक गरेका थिए ।
बालेन आफू उम्मेदवार रहेको झापा ५ का कार्यक्रम छाडेर मधेस यात्रामा निस्केका हुन् । यसअघि उनी देशका विभिन्न स्थानमा पुगेका थिए । उनी पुगेका ठाउँमा समर्थकले अबिर र पुष्पगुच्छाले स्वागत गरे पनि उनले कतै सार्वजनिक समारोहमा बोलेका छैनन् ।