भदौ २४ मा आगजनी गरिएको कोटेश्वर भाटभटेनी शनिबारबाट खुल्ने

0 Shares

काठमाडौँ । भदौ २४ गते आगजनी गरिएको कोटेश्वरस्थित भाटभटेनी शनिबारबाट खुल्ने भएको छ । शनिबार बिहानदेखि नै सेवाग्राहीलाई सेवा दिन तयार रहेको भाटभटेनीका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए ।

भदौ २३ मा भएको जेनजी आन्दोलनको भोलिपल्ट भएको विध्वंसमा भाटभटेनीको कोटेश्वरसहितका ११ वटा स्टोर आगजनी गरिएको थियो । आगजनीले ध्वस्त भएको भवन भाटभटेनीले पुनर्निर्माण गरी पाँच महिनामै सञ्चालनमा ल्याएको हो ।

एक विज्ञप्तिमार्फत् भाटभटेनीले भनेको छ– आगजनीबाट क्षतिग्रस्त भएका आफ्ना स्टोरहरुमध्ये पहिलो चरणमा कोटेश्वर सुपरस्टोर पुनः सञ्चालनमा ल्याउको घोषणा गर्न पाउँदा खुसी लागेको छ ।”

शनिबार बिहान १० बजेदेखि पुनः सञ्चालनमा ल्याउनेगरी सम्पूर्ण तयारी गरिएको भाटभटेनीले जनाएको छ । “यो पुनःसञ्चालनले भाटभटेनीको पुनर्निर्माण, सेवाप्रति प्रतिबद्धता र समुदायप्रतिको उत्तरदायित्वलाई स्पष्टरुपमा प्रतिबिम्बित गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।

भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले भदौ २३ र २४ को घटनाबाट प्रभावित भए तापनि भाटभटेनी सुपरमार्केटले आफ्ना कर्मचारी, ग्राहक तथा सरोकारवालाहरुको सहयोग र विश्वासका कारण छिटो पुनःउत्थानको मार्गमा अघि बढ्न सफल भएको बताउँदै भने, “कोटेश्वर स्टोरको पुनः सञ्चालनसँगै बाँकी स्टोरहरु पनि चरणबद्ध रुपमा सञ्चालनमा ल्याइनेछ ।”

भाटभटेनीले जारी गरेको विज्ञप्तिमा कठिन घडीमा साथ, सहयोग र धैर्यताका लागि सबै ग्राहकवर्ग, स्थानीय समुदाय, सुरक्षा निकाय तथा सरोकारवाला सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।

भदौ २४ गते काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको थियो ।

सम्बन्धित समाचार