राष्ट्रिय सभामा कांग्रेस पहिलो नेकपा दोस्रो, तेस्रोमा एमाले पुग्यो

0 Shares

काठमाडौँ । राष्ट्रिय सभाको माघ ११ गतेको निर्वाचनपछि नेपाली कांग्रेस पहिलो दोस्रोमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा) र तेस्रोमा नेकपा एमाले, चौथो जनता समाजवादी पार्टी(जसपा) हुन पुगेको छ । यसअघि नेकपा पहिलो दल थियो भने कांग्रेस दोस्रो   दलको   रुपमा    रहेको थियो ।

राष्ट्रिय सभामा दुई वर्षका बीचमा एक तिहाई सदस्यको निर्वाचन हुनेगर्छ । रिक्त १९ पदमध्ये एक मनोनीत र एक निर्विरोध भएको १ बाहेक आइतबार १७ स्थानका लागि निर्वाचन भएको थियो । निर्वाचनमा कांग्रेस र एमाले गठबन्धनले एकलौटी जित निकालेका छन् ।
दुई दलको गठबन्धनमा कांग्रेसले ९, एमालेले ८ र जसपालाई १ सिट दिइएको थियो । दुई दलीय गठबन्धनले १७ वटै सिटमा जिते निकालेपछि कांग्रेस २५ सिटसहित राष्ट्रिय सभामा ठुलो शक्ति बनेको छ । यसपटकको निर्वाचनमा कांग्रेसको कुनै पनि सांसदको पद रिक्त भएको थिएन । हाल कायम रहेको १६ मा ९ सांसद थपिएका छन् । अब कांग्रेस २५ जना सांसद भएपछि पहिलो दल बनेको छ ।

तत्कालीन माओवादी केन्द्रको १७ र एकीकृत समाजवादीको ८ सहित दुई दल एकीकरणपछि बनेको नेकपाको कुल सांसद २५ रहेका थिए । त्यसमध्ये पदावधि सकिएका ८ जना नै उसले गुमाएको छ । नेकपाबाट गोपीबहादुर सार्की अछामी, गंगाकुमारी बेल्वासे, जगप्रसाद शर्मा, तामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान र बेदुराम भुसालको पदावधि सकिएको थियो । अब नेकपा १७ सिट सहित दोस्रो ठुलो दल भएको छ ।

एमालेको १० मध्ये ८ जनाको पदावधि सकिएको थियो । पदावधि सकिनेमा इन्दिरादेवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, विमला घिमिरे, शारदादेवी भट्ट र सुमित्रा बीसी रहेका थिए । एमालेबाट निर्वाचित हुने पनि ८ जना नै छन् । यस हिसाबले एमाले हाल कायम रहेकै १० सिट जोगाउन सफल भएको छ । एमाले १० सिट सहित तेस्रो दल बनेको छ ।

तत्कालीन जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीबाट पदावधि सकिएका एकरएक जना थिए । यी दुई दल पनि एकीकरण भइसकेको छ । एकीकृत जसपा, नेपालको राष्ट्रिय सभामा चार सांसद थिए । जसमा मृगेन्द्रकुमार सिंह र शेखरकुमार सिंहको पदावधि सकिएको छ ।गठबन्धन गर्दा जसपाले एक सिट पाएको थियो । जसमा पार्टीको संरक्षक महन्थ ठाकुर निर्वाचित भएका छन् । जसपा तीन सिट सहित चौथो ठुलो दल भएको छ ।

कांग्रेसका सुनिलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्ति हुने वामदेव गौतमको पनि पदावधि सकिएको छ । पदावधि सकिएका सबै सांसदहरुको औपचारिक बिदाइ आगामी फागुन २१ गतेदेखि हुनेछ ।

राष्ट्रिय सभा निर्वाचनमा समेत आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा समेत असर पार्ने विश्लेषकहरु बताउँछन् ।

सम्बन्धित समाचार