काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी रौतहट १ बाट उम्मेदवार बनेसँगै अयोग्य भन्दै उजुरी परेको हो ।
सोही क्षेत्रका अर्का उम्मेदवार राम नरेश राय यादवले नेपालको उम्मेदवारी खारेजको माग गर्दै उजुरी दिएका हुन् । पतञ्जलि जग्गा प्रकरणमा मुछिएका नेपाल उम्मेदवार बन्न अयोग्य रहेको उजुरीमा उल्लेख गरिएको छ ।
‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ बमोजिम निज निलम्बन भएको तथा उक्त मुद्दा विचाराधीन अवस्थामा रहेकोले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार उहाँ उम्मेदवार हुन अयोग्य हुनु भएको हुँदा उहाँको उम्मेदवारी खारेज गरी पाउन सादर अनुरोध छ,’ उजुरीमा भनिएको छ ।
आजै मात्र नेपाल प्रतिवादी रहेको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिनासम्बन्धी मुद्दामा विशेष अदालतले मिसिल झिकाउने आदेश दिएको थियो । उनीसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइका लागि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग मिसिल माग गर्ने आदेश दिएको हो ।
अख्तियारले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो, जरिवाना र सजाय माग दाबी गरेको छ ।
तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत तथा संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको अख्तियारको दाबी छ ।