झापा । झापा ५ मा रास्वपाका उम्मेदवार वरिष्ठ नेता बालेन शाहलाई सहयोग गर्ने भन्दै नेपाली कांग्रेस दमक नगर समितिका सभापति प्रकाश प्रसाईँले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिँदै झापा ५ मा रास्वपाका उम्मेदवार बालेन शाहलाई सघाउने उल्लेख गरेका छन् ।
सामाजिक सञ्जालमा स्टाटस राख्दै उनले आफ्नो पद र पार्टीको क्रियाशील सदस्यता समेत परित्याग गरेको घोषणा गरेका हुन् । उनले अबको आफ्नो यात्रा पद, कुर्सी वा झण्डाका लागि नभई देशमा परिवर्तन ल्याउनका लागि हुने बताएका छन्
उनले बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै लेखेका छन्,’काठमाडौँ महानगरका निवर्तमान मेयर बालेन शाहलाई विजयको अग्रिम शुभकामना दिँदै मेरो तर्फबाट पूर्ण साथ, समर्थन र चुनावी अभियानमा सक्रिय रहने प्रतिवद्धता व्यक्त गर्दछु।’
प्रसाईँकी श्रीमती रेगिना भट्टराई दमक नगरपालिकाकी उपमेयर छन् । उनी नेपाली कांग्रेस तर्फबाट ०७९ को चुनावमा विजयी भएकी हुन् ।