आफैँविरुद्धको आन्दोलनमा जलेका भवन अवलोकन गरी ओलीले थाले चुनावी अभियान

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरी चुनावी अभियान थाल्ने भएका छन् ।

गत भदौ २३ र २४ गते आफ्नै नेतृत्वको सरकारविरुद्ध आन्दोलन हुँदा तोडफोड र आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाहरू अध्यक्ष ओलीले निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम रहेको छ । आज दमकस्थित इलाका प्रहरी कार्यालयको भवनको निरीक्षण गरेर सुरु गरिने एक नेताले जानकारी दिए ।

एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजे देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पीडितहरूलाई भेट्ने कार्यक्रम तय गरिएको छ ।

आज इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका, दमकका मेयर राम थापाको निवास,नेपाली कांग्रेसको पार्टी कार्यालय, पूर्व मेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नो निवास, नेपाली कांग्रेस दमक नगरको कार्यालय, एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने योजना बनाइएको छ ।

दिउँसो १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेदवारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरू भएकाले जलाइएका अन्य संरचनाहरू अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार