बालेनको प्रश्नः मधेसको छोरालाई प्रधानमन्त्री बनाउने हो ?

0 Shares

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) साहले आफू मधेसका जनतासँग काम माग्न आएको बताएका छन् ।

बालेनले काठमाडौँमा मधेशमा उखु किसानहरुले भुक्तानी नपाएर आन्दोलन गरिरहँदा आफू अधिकारको अभावले केही गर्न नसकी हेरेर बस्न बाध्य भएकोले संघीय सरकारकै नेतृत्व गर्न अगाडि सरेको बताएका छन् ।

उनले दैनिक भुक्तानी नपाएका किसानहरुले आन्दोलन गर्नुपर्ने, मिटर ब्याज पीडितहरु न्यायको लागि काठमाडौं जानुपर्ने अवस्थाको लागि आफू नेतृत्वमा आउन खोजेको बताए । उनले मधेशमा नेताहरुले समाजवादको कुरा गर्ने तर समाजवादको क्षेत्रमा काम नगरेको बताए ।

उनले भने ‘काठमाडौं महानगरपालिकामा हरेक वर्ष २० हजार विद्यार्थीहरुले छात्रवृत्तिमा महंगा महंगा स्कुल कलेजमा निःशुल्क पढ्न पाएका छन्, त्यो समाजवाद हो । हिजो काठमाडौंबाट मधेश झरेका नेताले ‘बिना ढेउवा के’ (पैसा बिना) श्रम बेच्न विदेश पठाउँछु भन्नु समाजवाद होइन ।’

काठमाडौँको मेयरका रुपमा देशभरका ३५ पालिकामा एम्बुलेन्स पुर्‍याएको बताउँदै प्रधानमन्त्री हुँदा के-के गर्न सकौंला ? भन्दै प्रश्न गरे । ‘काठमाडौंको मेयरको रुपमा केही गर्न सकिएन । अब गरेर देखाउँछु । काठमाडौँमा रहेर ३५ पालिकाको एम्बुलेन्स बनाउन सकेँ, संघ सरकारमा गएँ भने कति सकौंला ?,’ बालेनले भने ।

जनकपुमार सोमबार आयोजित उदघोष सभालाई सम्बोधन गर्दै उनले काठमाडौँ महानगरपालिकाको जिम्मेवारी छाडेर देशकै लागि काम गर्छु भनेर जनतामाझ काम माग्न आएको बताए ।

उनले एक मधेसी छोरा प्रधानमन्त्री बन्न लागेको भन्दै सही समय आएकाले रास्वपाको चुनाव चिह्न घण्टीमा भोट हाल्न अनुरोध गरे ।

सम्बन्धित समाचार