काठमाडौं । महाधिवेशनमा आफ्ना विरुद्ध प्रतिस्पर्धा गरेका नेताहरूप्रति अध्यक्ष ओली कडा देखिएका छन्। पार्टीभित्र इतर समूहका नेताहरूले टिकट पाउने–नपाउनेमा स्पष्ट विभेद देखिएको छ ।
शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाउँदा इतर समूहका नेताहरूको क्षेत्रमा निर्णय गर्ने अधिकार अध्यक्ष ओलीले स्वयं राखेका छन् ।
अध्यक्ष ओलीले ताप्लेजुङ र काभ्रे–२ बाट चुनाब लड्दै आएका योगेश भट्टराई र गोकुल बास्कोटालाई उम्मेदवार नबनाउने भएको छ।
नेकपा एमालेले ताप्लेजुङबाट क्षितिज थेवे र काभ्रे–२ बाट धुलिखेल नगरपालिकाका मेयर अशोक ब्याञ्जुलाई उम्मेदवार बनाएको छ ।
यो भन्दा अगाडीको चुनावमा ताप्लेजुङबाट योगेश भट्टराईलाई र काभ्रे–२ बाट गोकुल बास्कोटा उम्मेदवार बन्दै आएका थिए ।
गत शनिबार बसेको सचिवालय बैठकले ताप्लेजुङको टिकट होल्ड गरेको थियो। आइतबार अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार टुंगो लगाउँदै थेवेलाई टिकट दिएका हुन्।
थेवे एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष हुन्। उनी गत महाधिवेशनमा दोहोरिएर अध्यक्ष निर्वाचित भएका थिए।
भट्टराई ताप्लेजुङबाट २०७४ र २०७९ मा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। त्यसअघि उनी २०६४ र २०७० काठमाडौं–६ बाट संविधान सभा सदस्य उम्मेदवार भएका थिए। चुनाव भने जितेका थिएनन्।
काभ्रे–२ बाट यसअघि गोकुल बास्कोटाले चुनाव जित्दै आएका थिए। अघिल्लो निर्वाचनमा प्रतिकूल समयमा पनि बास्कोटाले चुनाव जितेका थिए। यसपटक उनको नाम निर्वाचन क्षेत्र र जिल्लाबाट एकल सिफारिस भए पनि अध्यक्ष केपी शर्मा ओलीले उनलाई टिकट नदिएका हुन्।
ब्याञ्जु दुई पटक धुलिखेल नगरपालिकाको मेयर निर्वाचित भइसकेका छन्। गत शनिबार बसेको सचिवालय बैठकले काभ्रे–२ को उम्मेदवार टुंग्याउने अधिकार अध्यक्ष ओलीलाई दिएको थियो। ओलीले ब्याञ्जु रोजेका हुन्। काभ्रे-१ मा अमित लामालाई एमालेले उम्मेदवार बनाएको छ।