काठमाडौं । आईसीसी टी २० विश्वकप खेल्न नेपाली क्रिकेटको आधा टोली आज राति वेष्ट इण्डिज जाने भएको छ । बाँकी १२ जना भोलि मात्रै जाने भएका छन् ।
यसअघि नेपाल क्रिकेट संघ (क्यान)ले दुई दिनअघि बिहीबार राति नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेको थियो । शनिबार राति २ बजे सात खेलाडी र चार अफिसियल गरी ११ जना कतार हुँदै वेष्ट इण्डिज जाने भएका हुन् ।
शनिबार राति जाने टोलीमा ओपनर कुशल भुर्तेल, आसिफ शेख, तीव्र गतिका बलर करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, स्पिनर ललितनारायण राजवंशी रहेका छन् ।
अफिसियलतर्फ फिटनेश ट्रेनर अब्दुल सतार, सहायक प्रशिक्षक वसन्त शाही, ब्याटिङ प्रशिक्षक नन्दन फिड्निस, म्यानेजर प्रदीप मजगैयाँ र बलिङ प्रशिक्षक रोडिरिक इस्ट्विक छन् ।
आइतबार दिउँसो जाने टोलीमा कप्तान रोहित पौडेल, सन्दीप जोरा, गुल्शन झा, प्रतिश जिसी, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, कमलसिंह ऐरी, कुशल मल्ल, मुख्य प्रशिक्षक मोन्टी देशाई, टेक्निकल एनालिष्ट रमन शिवाकोटी र फिजियो बिक्रम न्यौपाने छन् ।
बिजनेस क्लास टिकटको कारण खेलाडी दुई फरक जहाजमा जान लागेका हुन् । वेष्ट इण्डिजमा नेपालले ५ दिन अभ्यास गर्ने छ । नेपालले वेष्ट इण्डिजमा अभ्यास खेल खेल्ने भएको हो ।
त्यसपछि नेपाली क्रिकेट टोली अमेरिका पुग्ने छ । विश्वकप २ जुनदेखि अमेरिका र वेष्ट इण्डिजमा हुँदै छ ।
नेपालले ४ जुनमा नेदरल्यान्ड्स, १२ जुनमा श्रीलंका, १५ जुनमा दक्षिण अफ्रिका र १७ जुनमा बंगलादेशसँग खेल्ने भएको छ । नेपालले तीन खेल अमेरिका र एक खेल वेष्ट इण्डिजमा गएर खेल्ने छ ।