जनकपुरबाट चुनावी अभियान थाल्दै बालेन, रविसँग पहिलोपटक मञ्च सेयर गर्दै झापा जाने तयारी

0 Shares

काठमाडौं । रास्वपामा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पदबाट राजीनामा दिएर चुनावी अभियानमा होमिँदै छन् । आउँदो ५ गतेबाट चुनाव केन्द्रीत यात्रामा निस्किने उनको तयारी छ ।

रास्वपाले भावि प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गर्दै बालेनलाई चुनावी अभियानमा लैजान आँटेको हो । उनी एमाले अध्यक्ष केपी ओलीको क्षेत्र झापा ५ बाट उठ्न उम्मेदवार बन्न लागेका छन् । औपचारिक घोषणा भने भइसकेको छैन । बालेनको चुनावी अभियान मधेसबाटै सुरु हुने भएको छ ।

आगामी ५ माघमा मधेश प्रदेशको राजधानी जनकपुरधामबाट बालेनले आफ्नो दौडाहा सुरू गर्न लागेका हुन् । जनकपुरमा पहिलोपटक बालेन र रास्वपा सभापति रवि लामिछाने सँगै उपस्थित हुने कार्यक्रम तय भएको छ । रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले देश जोड्ने र बनाउने महाअभियानको सुरूवात मधेशबाट हुने भन्दै उनले फेसबुकमा पोस्ट गरेका छन् ।

जनकपुरधामको कार्यक्रमपश्चात बालेन आफ्नो सम्भावित चुनावी क्षेत्र झापा ५ मा जानेछन् । रवि भने चितवन झर्ने छन् । माघ ६ गते प्रत्यक्ष निर्वाचनका लागि मनोनयन पत्र दाखिला गर्ने कार्यक्रम छ । मनोनयनपश्चात दुवै नेताहरू देश दौडाहामा निस्किने रास्वपाले जनाएको छ ।

मधेशका मतदाताहरुलाई भावनात्मकरूपमा अपिल गर्न रास्वपाले बालेनलाई ‘मधेशपुत्र’ रूपमा ब्रान्डिङ गर्ने प्रयास गरिरहेको छ । मधेशका विभिन्न स्थानमा ‘अबकी बार-बालेन सरकार’ लेखिएका पोस्टरहरू टाँगिएका छन् । हाल काठमाडौंका स्थायी बासिन्दा भए पनि बालेनको पैतिृक थलो महोत्तरी जिल्लामा पर्छ । महोत्तरी ३ को एकडारा गाउँपालिकाका बालेनको पुर्ख्यौली घर अहिले पनि छ । उनको जन्म भने काठमाडौंको नरदेवीमा भएको थियो ।

बालेनलाई ‘सम्भावित पहिलो मधेशी प्रधानमन्त्री’ का रूपमा प्रचारित गर्दा मधेशी जनमतमा ठूलो प्रभाव पर्ने विश्लेषण गरिएको छ ।

सम्बन्धित समाचार