देशलाई समृद्ध बनाउने काम एक्लैदुक्लै गरेर सकिने कुरा होइनः प्रचण्ड

0 Shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले कम्युनिष्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन्।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै संयोजक दाहालले यस्तो बताएका हुन्।

राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत राष्ट्रिय एकताको आवश्यकता रहेको दाहालले बताए। सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना–ठूला कम्युनिष्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ।

उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे। जेन–जी युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनि बुझ्न थालेको जिकिर पनि गरे।

उनले भने, ‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ। देशलाई आर्थिक रुपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ। त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत राष्ट्रिय एकताको आवश्यकता पर्छ। त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न साना १७ वटा सानाठूला कम्युनिष्ट घटकहरुलाई मिलाएर नेपाली कम्युनिष्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दैछौँ।’

सम्बन्धित समाचार