काठमाडौं । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले आफू षड्यन्त्रको शिकार भएको बताएका छन् ।
बुधबार टी २० विश्वकपको नेपाली टिम घोषणा भएपछि सामाजिक सञ्जालमा सन्दीपले आफूमाथि षड्यन्त्र भएको बताएका हुन् । उनले आफूलाई फसाउनेको नाम छिट्टै सार्वजनिक गर्ने बताए ।
उनले भनेका छन्, ‘मैले लामो पोस्ट गर्नबाट आफूलाई टाढा राखेँ, म षड्यन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन, यस षड्यन्त्रमा भूमिका खेल्ने सबैलाई भगवानले साथ दिउन्, म सबै कुरा भगवानमा छोड्छु, सत्यतथ्य बाहिर नआएसम्म समयले बताउने छ ।’
त्यसपछि सन्दीपले अर्को पोष्ट गर्दै आफूमाथि भएको षड्यन्त्रमा संलग्न व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने उल्लेख गरे । उनले भने, ‘म सम्बन्धित अदालतको कानून र आदेशको सम्मान गर्दछु, तर म यस षड्यन्त्रमा आफ्नो भूमिका खेल्ने प्रत्येक व्यक्तिको नाम छिट्टै सार्वजनिक गर्ने सबैलाई प्रतिज्ञा गर्दछु, जो यस मुद्दामा संलग्न छन् ।’
विं.सं. २०७९ भदौमा बलात्कारको उजुरीपछि सन्दीपलाई गत पुसमा जिल्ला अदालत काठमाडौंले आठ वर्ष कैद, तीन लाख जरिवाना र दुई लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो ।
जिल्ला अदालतको यो निर्णयविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन दिएका छन् । जिल्ला अदालतको फैसलालाई चुनौती दिँदै जिल्ला सरकारी वकिलको कार्यालयले पनि उच्च अदालत पाटनमा पुरानावेदन गरेको छ ।