काठमाडौं । त्रिवि क्रिकेट मैदानमा सम्पन्न टी २० शृङ्खलाको तेस्रो खेलमा नेपालले ७६ रनको लज्जास्पद हार बेहोरेको छ । वेष्ट इण्डिज ‘ए’लेले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल १९.१ ओभरमा अलआउट भएको हो ।
नेपालको ब्याटिङतर्फ कुनै पनि ब्याटर चल्न सकेनन् । नेपालका लागि लोकेश बम र नवौँ स्थानमा ब्याटिङ गर्न गएका करण केसीले समान २८ रन बनाए । यस क्रममा बमले २९ बल खेलेर एक चौका र दुई छक्का प्रहार गरे । कुशल मल्लले २० र विनोद भण्डारीले १९ रन बनाए ।
अर्का ब्याटर अनिल साहले जम्मा १४ रन बनाउँदा अन्य खेलाडीहरूले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
टस जितेर पहिला ब्याटिङ रोजेको वेष्ट इण्डिज ‘ए’ले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२७ रनको योगफल बनाएको थियो ।
वेष्ट इण्डिजका जोनसन चाल्र्सले शतकीय पारी खेले । उनले ६१ बलमा १३ चौका र सात छक्काको मद्दतमा ११९ रन बनाए ।
यस्तै आन्द्रे फ्लेचरले ५३ रन बनाए । उनले ३३ बल खेल्ने क्रममा चार चौका र र तीन छक्का हाने । फबिएन एलेनले १९, एलिक एथानाजेले १७ तथा किमो पलले अविजित १३ रन बनाए ।
बलिङतर्फ नेपालका लागि करण केसी र सागर ढकालले एक-एक विकेट लिए ।