५ दलले आयोगमा बुझाए समानुपातिक उम्मेदवारको सूची

0 Shares

काठमाडौं । निर्वाचन आयोगमा पाँच दलले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरेका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आइतबारदेखि समानुपातिक उम्मेदवारको बन्द सूची पेस गर्ने कार्यक्रम तोकिएको थियो।

सोमबार मध्याह्नसम्म पाँच वटा दलले उम्मेदवारको बन्द सूची पेस गरेको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चा, जनप्रिय लोकतान्त्रिक पार्टी, नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) गरी पाँच दलले सूची बुझाएका हुन्।

बन्द सूची पेस गर्न आज अपराह्न ४ बजेसम्मको समय सीमा तोकिएको छ। प्रवक्ता भट्टराईका अनुसार पहिलो चरणमा सम्बन्धित दलहरूले सिफारिस गरेको उम्मेदवारको नाम मतदाता नामावलीमा नाम रहेरनरहेको यकिन गरेर निस्सा उपलब्ध गराउँछ।

त्यसपछि निस्सा लिएपछि बन्दसूची पेस गर्नका लागि दर्ता गरिने उनको भनाइ छ। उनले सेवा प्रवाहको लागि आवश्यक स्रोत साधन सबै प्रबन्ध मिलाइएको पनि जानकारी दिए।

निर्वाचन आयोगको व्यस्त कार्यतालिका भएकोले समय थप हुन नसक्ने पनि बताए। प्रवक्ता भट्टराईले विभिन्न समूहहरूको प्रतिनिधित्व गराउने कानूनी व्यवस्थाअनुसार दलहरूले मिलाएर नामावली पठाउने पनि विश्वास व्यक्त गरे।

सम्बन्धित समाचार