काठमाडौँ । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीले औपचारिक रूपमा चुनावी एकताको घोषणा गरेका छन्। दुवै पार्टीले उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गरी संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने सहमति गरेका हुन्।
लामो समयदेखिको संवाद र छलफलपछि उज्यालो नेपाल पार्टीका अध्यक्ष ई. अनुप कुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष ई. दीपक कुमार साहबीच राजनीतिक, वैचारिक तथा चुनावी सहकार्यलाई संस्थागत गर्ने सहमति भएको हो।
सहकार्यका मुख्य बुँदाहरू:
साझा चुनाव चिन्ह: दुवै पार्टीले उज्यालो नेपाल पार्टीको दर्ता र साङ्गठनिक संरचनामार्फत ‘बलेको चिम’ चिन्हबाट संयुक्त उम्मेदवारी दिनेछन्।
साझा घोषणापत्र: सुशासन, पारदर्शिता, स्थिर सरकार, मधेस तथा दुर्गम क्षेत्रको विकास, रोजगारी, शिक्षा र स्वास्थ्य जस्ता विषयलाई प्राथमिकता दिँदै संयुक्त चुनावी घोषणापत्र तयार गरिनेछ।
उम्मेदवार छनोट: जनप्रभावकारिता र इमानदारीका आधारमा उम्मेदवारको टुङ्गो लगाइनेछ।
जेन जी (Gen Z) एजेन्डा: युवा आन्दोलनको मर्म र भावनालाई व्यवहारमा उतार्न एकीकृत मोर्चा निर्माण गरिएको दाबी गरिएको छ।
भावी रणनीति र प्रतिबद्धता
घोषणापत्रमा राज्यको पुनर्संरचना, संविधान संशोधन, संघीयता र समावेशीता जस्ता मुद्दालाई केन्द्रमा राखिएको छ। पछिल्लो समय जनतामा बढ्दै गएको सुशासन र वैकल्पिक राजनीतिको आकांक्षालाई सम्बोधन गर्न यो एकता गरिएको दुवै अध्यक्षले बताएका छन्।
पार्टीहरूबीच कुनै विवाद उत्पन्न भएमा शीर्ष नेताहरूको संयुक्त संयन्त्रमार्फत समाधान गरिने र अन्य प्रगतिशील वैकल्पिक शक्तिहरूसँग पनि एकताको ढोका खुला राखिने सहमति भएको छ।