एमाले नेता ज्ञवाली भने – दुई दृश्यले आँखा बिझायो

0 Shares

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै भेला गरेको भन्दै ईश्वर पोखरेल समूहप्रति आपत्ति जनाएका छन्। उनले महाधिवेशन नै पार्टीको सर्वोच्च निकाय भएको भन्दै यो सम्पन्न भए लगत्तै भएको भेला अपेक्षित नभएको भन्दै आपत्ति जनाएका हुन्।

‘हिँजो अस्तिका दुई दृश्यले आँखा बिझायो। महाधिवेशन सकिए लगत्तै केही कमरेडहरूले गर्नुभएको छुट्टै भेला अपेक्षित थिएन। महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। त्यसको फैसला पनि अन्तिम नमानिने हो र त्यसपछि पनि ‘मुद्दा कायमै ‘ रहने हो पार्टी अन्त्यहीन बहस क्लबमा रूपान्तरित हुन्छ। यसो हुनुहुँदैन’, उनले कसैको नाम नलेखी ईश्वर पोखरेल समूहप्रति लक्षित गर्दै लेखेका छन्, ‘एक वर्ष अगावै महाधिवेशन आयोजना गर्नुको एउटै तर्कसङ्गत आधार र कारण थियो। केही कमरेडहरूले नेतृत्वको वैधता, सान्दर्भिकता र स्वीकार्यतामाथि उठाएको प्रश्न। महाधिवेशनले ती प्रश्नको स्पष्ट र द्विविधारहित जवाफ दिएर नेतृत्वलाई पुनस् अनुमोदित गरेको छ।

अब पनि महाधिवेशन पूर्वकै ब्यागेज बोकेर ‘दुई लाइनको सङ्घर्ष’, ’प्रतिवाद’, र ‘खोक्रो एकता’ जस्तो बाटोमा हिँड्दा कहीँ पुगिदैन।’ उनले तीन महिनाको छोटो अवधिमै पार्टीलाई तङ्ग्र्याएर एउटा बिन्दुमा ल्याएको अवस्थामा यो आवश्यक नभएको प्रष्ट पारेका छन्।

 

सम्बन्धित समाचार