काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अन्तिम सन्देश सभाको रुपमा काठमाडौँको भृकुटीमण्डपमा गर्ने भएको छ । नेकपाले पहिलो सन्देश सभाको रुपमा सुदूरपश्चिम प्रदेशको धनगढीमा गत मंसिर १२ गते शुक्रबार गरेको थियो । अन्तिम सन्देश सभाको रुपमा नेकपाले पुस ५ गते शनिबार अर्थात भोलि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रुपमा सन्देश सभा गर्न लागेको हो ।
नेकपाको अन्तिम सन्देश सभालाई संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहसंयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाका केन्द्रीय सदस्य एवम् उपत्यका विशेष प्रदेशका सह-इन्चार्ज रमेश मल्लले जानकारी दिए ।
‘हामीले नेकपाको अन्तिम सन्देश सभाको रुपमा पुस ५ गते बिहान ११ बजे कार्यक्रम गर्दै छौंँ, बागमती प्रदेशसहित तीन प्रदेशबाट जनता सहभागी हुने छन्, सन्देश सभामा भव्य र व्यवस्थित बनाउने योजना छ,’ मल्लले भने, ‘नेकपाका अन्तिम सन्देश सभाले राजनीतिक वैचारिक संवैधानिक रिक्ततालाई ट्रयाकमा ल्याउन बल पुग्ने छ, यसले निर्वाचनको वातावरण सुनिश्चितसमेत गर्ने छ ।’ सन्देश सभामा औपचारिक भाषणसहित सांस्कृतिक कार्यक्रम र पार्टी प्रवेशको कार्यक्रम राखिएको मल्लले बताए ।
‘माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १५ भन्दा कम्युनिस्ट पार्टीको एकता भएको छ, पार्टी एकताको सन्देश जनतामा लिएर एकताबद्ध बनाउनुपर्ने छ । बदलिँदो राजनीतिक कोर्षअनुसार चुनावी सरकार बनेको छ, मुलुक अझै संक्रमण कालीन अवस्थामै छ, देश इतिहासकै संकटको स्थितिमा भएकाले यसको समाधान चुनावमै हो,’ उनले भने, ‘यो वा त्यो रुपमा चुनाव हुन दिने खेल भएकाले त्यो भनेको फागुन २१ गतेको प्रतिनिधि सभा चुनाव तोकिएकै मितिमा हुनुपर्छ, निर्वाचनमार्फत नयाँ जनादेशमा जाने वातावरण बनाउनुपर्छ ।’
देशमा यो वा त्यो रुपमा चुनाव हुन नदिएर कमजोर बनाउने खेल भएकाले खबरदारी गर्ने मल्लले बताए । जनतालाई संविधानले प्रत्याभूति गरेका अधिकारहरु कतै पनि कुण्ठित भन्ने हेतुका साथ संविधान र कानुनको पालना गराउन दबाब उनको भनाइ छ । सन्देश सभाले संवैधानिक र कानुनी रिक्तताको स्थिति बन्न खोज्दै त्यसलाई रोक्न सहयोग पुग्ने उनको भनाइ छ ।
पार्टीका सन्देश सभा सकिएपछि नेकपाले पार्टी एकताको प्रक्रियालाई अघि बढाउने तयारी गरेको नेताहरुले बताएका छन् ।