काठमाडौं । ‘परिस्थितिको तरलतालाई प्रयोग गर्दै साम्राज्यवादी तत्वहरूले संसारभरि स्वार्थका लागि हाम्रा जस्ता देशका प्राकृतिक स्रोतसाधन दोहन गर्न कठपुतली लाद्ने खेल चलिरहेको छ । आज एमालेमाथि भयंकर हमला छ । हमलाको एउटा कारण एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा अडान लिँदै आएकाले हो’ उक्त अभिव्यक्ति नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द्र ‘विप्लव’को हो ।
एमालेभन्दा पृथक माओवादी जनयुद्धबाट उदाएका विप्लवले एमालेमाथि भएको प्रहारको आक्रमक रुपमा प्रतिवाद गरेपछि एमाले नेता कार्यकर्ताल ११ औँ महाधिवेशन स्थल भक्तपरको सल्लाघारीमा गडगडाहट ताली पिटेर समर्थन जनाए ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेदेखि नै एमालेमाथि चौतर्फी प्रहार भइरहेका बेला एमालेभन्दा परका पार्टी महासचिव विप्लवले प्रतिवाद गर्दा एमालाई चराएको घाउँमा मलम लगाए जस्तै भएको छ । पार्टी अध्यक्ष ओलीले समेत एमालेमाथि जति प्रहार भए पनि सतिसाल झै उभिने भन्दै नेता कार्यकर्तालाई आश्वस्त पार्ने कोशिस गरे ।

एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएकै बेला गत भदौ १५-१७ गतेसम्म चीनले विश्वका २६ देशका राष्ट्र प्रमुखलाई बोलाएर जापानलाई हराएको अवसरमा सैनिक परेडको आयोजना गरेको थियो । उक्त परेडमा सहभागी हुन चीनले राष्ट्रपति रामचन्द्र पौडेललाई निम्ता पठाएको थियो ।
जापानले नेपालबाट राष्ट्रपति र प्रधानमन्त्री कसैलाई सैनिक परेडमा सहभागी नहुन कुटनीतिकमार्फत आग्रहसमेत गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री ओली सैनिक परेड अवलोकन गर्न चीन गएपछि जापान, अमेरिकासहित पश्चिम देशहरु नराम्रोसँग चिढिएका थिए । त्यति मात्रै होइन तत्कालीन प्रधानमन्त्री ओली चिनियाँ राष्ट्रपति सी जिङ फिङ, रसियन राष्ट्रपति भलादिमिर पुटिनसँग सौहार्दपूर्ण रुपमा भेट भएपछि नेपालमा उनीविरुद्ध षड्यन्त्र हुन थालिसकेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
त्यति बेला ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि नियमन गर्न खोजेपछि एमालेमाथि विदेशी शक्तिले नियोजित रुपमा प्रहार गर्न थालेका थिए । जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकार गठन भएसँगै पछिल्लो समय एमालेमाथि निरन्तर प्रहार हुन थालेपछि एमाले नेता कार्यकर्तासँगै अरु पार्टीले समेत प्रतिवाद गर्न थालेका छन् ।
आगामी फागुन २१ गतेको निर्वाचनमा एमाले तयार भए पनि नियोजित प्रहार भएको भन्दै पार्टी नेता कार्यकर्ताले जमेर प्रतिवाद गरी रहेका छन् । एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका जलस्रोत विद डा. भेषराज थापाले एमालेलाई आगामी निर्वाचनमा कमजोर बनाउन अध्यारो कोठाबाट षड्यन्त्रको तानाबुना बुन्ने खेल भएको जिकीर गरे ।

‘एमाले नेतृत्वमाथि प्रहार भएको यो पहिलो घटना होइन, तपाईले इतिहासतिर फर्केर हेर्नुभयो भने एमालेविरुद्ध ठूला-ठूला षड्यन्त्र र आक्रमण भएका छन् । यसले हत्यासम्मको परिणाम दिएको छ,’ उनले भने, ‘चाहे दासढुंगाको काण्डको कुरा गर्नुस् वा अन्य भौतिक रुपमै सक्ने गरी भएका हमलाको कुरा गर्नुस् । अहिलेको आक्रमण त्योभन्दा अझ फरक हो, आज ती शक्तिहरु एमालेलाई वैचारिक, राजनीतिक रुपमा समाप्त गर्न चाहन्छन्, एमाले पार्टीलई नै सक्ने गरी कल्पना गरेका छन्, एमालेका लाखौँ नेता कार्यकर्ताले यो आक्रमणलाई पार्टीविरुद्धको लडाई मात्रै भनेर बुझेका छैनन्, हामी लडाईलाई देशको स्वाधीनता र राष्ट्रिय मुक्तिको आन्दोलनको रुपमा लड्न चाहन्छौँ, त्यसका लागि जित्नुबाहेक अर्को विकल्प छैन ।’
महाधिवेसनबाट निर्वाचित हुने नयाँ नेतृत्वले पार्टीविरुद्ध भएको हमलालाई चिरेर बलियो शक्तिको रुपमा उभ्याउने डा. थापाको भनाइ छ । यस्तै, एमालेका युवा नेता देवराज राईले एमालेमाथि प्रहार गर्न जेनजीको नाममा ध्वङ्स मात्रै मच्याएकाले सही नहुने बताए ।
‘एमालेले राष्ट्र र राष्ट्रियताको पक्षमा अडान लिएकाले नियोजित रुपमा प्रहार भइरहेका छन्, एमालेविरुद्ध घेराबन्दी भएका विषयमा गम्भीर समीक्षा हुने छ,’ उनले भने, ‘महाधिवेशनबाट निर्वाचित नयाँ कमिटी चुनावमा सहभागी भएर बलियो शक्ति भएर उभिएपछि एकमुस्ट जवाफ दिन्छ, त्यसका लागि फागुन २१ गतेको निर्वाचन फर्किनुपर्छ ।’
एमाले लोकतन्त्र र विधिको शासनको पक्षमा भएकाले गलत तरिकाले गठन भएको सरकारको विरोध मात्रै गरेको उनले बताए ।