काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले गैरआवासीय नेपाली संघले सञ्चालनमा ल्याउन लागेको विकास कोषका लागि विद्यमान नियमावली आवश्यकताअनुसार परिमार्जन गरिने प्रतिबद्धता जनाएका छन् ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)को उच्च स्तरीय प्रतिनिधि मण्डलसँगको छलफलमा उनले नीतिगत व्यवस्था तथा अनुमति प्रदान गर्न सक्दो सहयोग गर्ने बताए ।
मन्त्री खनालले धितोपत्र बोर्डमा रहेका सम्बन्धित नियमावली छिटो परिमार्जन गरी फण्ड सञ्चालनमा रहेका अवरोध हटाइने उल्लेख गर्दै समाधानतर्फ सकारात्मक तथा व्यावहारिक कदम चालिने आश्वासन दिए ।
एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले विश्वभर रहेका नेपाली नेपालमा लगानी गर्न उत्सुक रहेको बताउँदै आइपिओमा ८५ प्रतिशत सहभागिता सुनिश्चित गर्न अनुरोध गरे ।
उनले आगामी दिनमा प्रवासी समुदायले नेपाल डेभलपमेन्ट फण्डमार्फत देशको आर्थिक र विकास योजनामा अझ प्रभावकारी रूपमा सहयोग गर्ने बताउँदै सरकारले गर्ने विकास प्रयासहरूमा साथ दिने प्रतिबद्धता जनाए ।
संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले फण्ड सञ्चालनका लागि आवश्यक नियमावली तत्काल परिमार्जन गर्न आग्रह गरेका थिए । पूर्वअध्यक्ष कुमार पन्तले लम्बिँदै आएको प्रक्रिया सहज बनाउन नीतिगत सुधार गर्न माग गरे ।
प्रतिनिधि मण्डलले फण्ड सञ्चालनका लागि देखिएका विभिन्न चुनौतीबारे विस्तृत धारणा पेस गरेको थियो । सरकारको समन्वय तथा सहकार्य र गैरआवासीय नेपाली संघको अग्रसरतामा नेपालमा पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको कोष स्थापना गरी सञ्चालनमा ल्याउन लागिएको छ ।
उक्त कोषमा सरकारको ५ प्रतिशत र गैरआवासीय नेपालीको ९५ प्रतिशत लगानी हुने जनाइएको छ ।