जेनजी सरकारले ओली र लेखकलाई पक्राउ गर्न सक्ला?

0 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने विषय चर्चामा आएको छ।

जेनजी आन्दोलनबाट बर्खास्त तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखक दुवैलाई उपत्यकाबाहिर जानसमेत रोक लगाएको छ । त्यसैमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा प्रहरी प्रशासन लगाएर आन्दोलनमा चरम दमन गरेको आरोपमा पक्राउ गर्ने विषयले चर्चा पाउने गरेको हो ।

जेनजी आन्दोलन र प्रदर्शनका क्रममा भएको दमन, आगजनी तथा तोडफोडको छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगका प्रमुख गौरीबहादुर कार्की नेतृत्वको समितिले ओली र लेखकलाई सोधपुछको लागि पत्र काटेर बोलाएको छ । तर, ओली लेखक दुवैले बयान दिन नआउने भन्दै अस्वीकार गर्दै आएका छन् ।

प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जिम्मेवारी सम्हालेलगत्तै पक्राउ गर्नुपर्ने तयारी गरेका थिए । जेनजी अभियान्ताले ओली र लेखकलाई पक्राउ गरेर मुद्दा चलाउन सरकारमाथि प्रेसर बढाएका थिए । प्रधानमन्त्री र गृहमन्त्री दुवैले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्र कँुवेर खापुङलाई बोलाएर निर्देशनसमेत दिएका थिए । प्रहरी महानिरीक्षक खापुङले सुरक्षा परिषद्बाटै पत्र प्राप्त भएमा पक्राउ गर्न सकिने आसाय व्यक्त गरेको एक प्रहरी उच्च स्रोतले बतायो ।

प्रधानमन्त्रीले सुरक्षा परिषद्को बैठक बोलाएर छलफल गरेपछि नेपाली सेनाका प्रधानसेनापति अशोक सिग्देललगायत सुरक्षा निकायका प्रमुखले ओली र लेखकलाई पक्राउ गरेर मुद्दा चलाउन शान्ति सुरक्षा खलबलिने भएकाले नसकिने आशय व्यक्त गरेका सरकारमा सहभागी एक मन्त्रीले बताए ।

जेनजी आन्दोलनपछि एक ढंगको शान्त भएकाले ओली र लेखक दुवैलाई पक्राउ गर्दा देश थप द्वन्द्वमा जान सक्ने भएकाले त्यसो नगर्न सुझाएका थिए । त्यसपछि ओली र लेखकलाई पक्राउ गरेर मुद्दा चलाउने विषय सेलाएका थियो ।

ओली आफैसमेत सार्वजनिक कार्यक्रममा आफूलाई दिनरात पक्राउ गर्न प्रहरीलाई निर्देशन दिने गरिएको उल्लेख गरेका थिए । अहिलेको कार्की नेतृत्वको सरकार दिनरात मलाई पक्राउ गर्न दबाब दिने गरेको केही दिनअघिको एक कार्यक्रममा बताएका थिए ।

कार्की नेतृत्वको जाँचबुझ आयोगको गठन गत असोज ५ गते गठन भएको थियो । जसको सदस्यमा पूर्वडिआइजी विज्ञानराज शर्मा र संविधानविद् विश्वश्वरप्रसाद भण्डारी रहेका छन् । उक्त समितिलाई पुस ५ गतेसम्मको तीन महिनासम्मको समय दिएर छानबिन गर्न समय दिएको थियो । अब समितिको म्याद सकिन हप्तादिन मात्रै बाँकी छ ।

जेनजी आन्दोलनमा सबै पक्षसँग सोधपुछ र भेटघाट गर्नुका साथै प्रमाणहरु संकलन गरी सकिएको छ । अब छानबिन अन्तिम चरणमा पुगेपछि तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्रीलाई बोलाएर सोधपुछ गर्ने तयारी गरेको हो । तर, ओली र लेखकले बयान दिन नआउने अडान लिएपछि प्रहरी लगाएर भए पनि पक्राउ गर्ने सरकारले तयारी गरेको प्रहरी स्रोतले जनाएको छ ।

ओली र लेखकले संविधानबाहिरबाट बनेको सरकारबाट गठन भएको छानबिनले बोलाएकाले नजाने बताउँदै आएका छन् । एमाले ११ औँ र नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको संघारमा पक्राउ गर्न सक्ने कतिपयले बताउने गरेका छन् । यो अवस्थामा महाधिवेशन नै प्रभावित हुन सक्ने दुवै पार्टीका नेताहरुले बताउने गरेका छन् ।

छानबिन समितिले समेत ओली र लेखकलाई सोधपुछ नगरेर अध्ययन अपूरै हुने बताउँदै आएको छ । यो अवस्थामा सरकारले कस्तो रणनीति लिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

सम्बन्धित समाचार