‘पानी बोकेरै गयो जवानी’

0 Shares

कालिकोट । देवारतोली गाउँको उत्तरतर्फको पुछारमा कञ्चन तिलानदी अविछिन्न बगिरहेको छ । तर, करिब दुई किलोमिटर माथिको बस्तीका बारिकापाटा उजाड छन् ।

गाउँ आउन केही वर्षअगाडि मात्र नदीमा झुलुङ्गे पुल बनेको थियो । यही पुल तरेर करिब २० मिनेट पश्चिमतर्फको समथर बाटो हिँडेपछि नाक नै ठोकिने भीर आइपुग्छ । भीरबाट तलतिर हेर्दा आङ सिरिङ हुने कहाली लाग्छ ।

तिलगुफा नगरपालिका २ स्थित यस भीरबाट लडेर देवारतोलीका ४२ वर्षीय चन्द्रबहादुर विश्वकर्माले तीन वर्षअगाडि अकालमा झण्डै ज्यान गुमाउनु परेको थियो । चामलको बोरा बोकेर उक्लिँदै गर्दा उनी चिप्लिएर भीरमै अड्किएका थिए । गाउँले मिलेर उनलाई उद्धार गरे ।

उनले त्यो दिनको त्रासदी सम्झिदै भने, ‘चालमको बोरा लिएर साँझमा घर आउँदै थिए, आधाआधि भीरमा पुगेपछि चिप्लिए छु, झण्डै तिलानदीमा पुगेको, धन्न भीरमै अड्किए छु, भोलिपल्ट गाउँलेले देखेर उद्धार गरेछन्, टाउँकामा चोट लागे छ, नेपालगञ्जमा गएर उपचार गर्दा सात लाख सकियो ।’

भीरको पुछारबाट माथि उक्लन करिब झण्डै ४५ मिनेट बढी लाग्छ । यो भीरबाट कति बस्तुभाउ लडेर तिलानदीमा पुगे । पानी लिन जाँदा कति गाग्रा गुल्टे देवारतोलीवासी सम्झन चाहँदैनन् । पछिल्लो समय गाउँलेले भीरको नाम ‘चन्द्रेभिर’ राखिदिएका छन् । तिला नदी पारी अर्थात् सुक्खा पहाडी क्षेत्र तिलगुफा १ ढाटाक्किवासी अहिले पनि यही भीर माथिका जंगलमा घाँस दाउरा लिन आउँछन् ।

भीर सकिने बित्तिकै केही समथरको जङ्गलमा सल्ला प्रजाति रहेको छ । जङ्गल सकिएपछि गाउँ आउन पुनः उकालो लाग्नु पर्छ । उकालोकै बीचमा सीमसार क्षेत्रमा पानीको सानो मुहान छ । पानी सङ्कलन गर्न ट्याङ्की बनाइएको छ । महिलालाई गाउँका पुछारमा रहेको ट्याङ्कीबाट पानी भर्न घण्टौँ लाग्दथ्यो ।

यत्तिकै सयम पानी लिएर घर आउँदा व्यतित हुन्थ्यो । यहाँका स्थानीयवासी हिउँदमा मूल सुक्दा तिला नदीमा जान्थे । देवारतोलीकी ६८ वर्षीया सानी विकले कष्टकर ती दिन सम्झिदै भनिन्, ‘पानी बोकेरै जवानी बित्यो, भीरबाट कति गाग्रा लडे भनिसक्नु छैन, थकान मार्ने र काखे बच्चालाई हेर्ने समय पानी खेप्दैमा सकिन्थ्यो, तिर्खा मेटाउने गरेर पानी पिउन सक्ने अवस्था थिएन, बस्तुभाउलाई त पानी खुवाउन तिलानदीमै लैजानु पर्दथ्यो, सागसब्जी लगाउन त परै जाओस् ।’

पछिल्ला केही दिनयता देवारतोली गाउँका महिलाको दैनिकी परिर्वतन भएको छ । हिजोजस्तो उनीहरु साँझ बिहान नत गाग्री बोकेर हिँड्छन् नत पानी भएन भनेर चिन्तित हुन्छन् । बालबालिका समयमै विद्यालय जान पाएका छन् । आगनका डिलमुनिका बारीमा खेर गएका पानीबाट सागसब्जी लगाउन थालिएको छन् ।

घरका आँगनमा जडान गरिएका धाराबाट पानी खस्न थालेका छन् । दलित समुदायको करिब ४५ घरमा करिब ३०० जनसङ्ख्या रहेको यो गाउँमा वर्षौंपछि खुसीका दिन आएको हो । उनले भनिन्, ‘आँगनमा धाराबाट पानी झरेको दिन खुसीले रातभर निद्रा लागेन, धारा नै हेरिरहुँ जस्तो भइराखेको छ, बल्ल पानीको चिन्ता हट्यो, अब त सागसब्जी खान पाइने भयो, बस्तुभाउलाई खुवाउन समस्या नहोला, आलु लगाउन पाइएला ।’

नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले तिलागुफा नगरपालिकासँगको सहकार्यमा यहाँ सञ्चालित ‘एकीकृत पुनर्लाभ तथा विपद् जोखिम न्यूनीकरण कार्यक्रम’ले गाउँमा ‘एक घर एक धारा’ निर्माणमा सहयोग गरेको हो । लक्जम्बर्ग रेडक्रसको आर्थिक एवं प्राविधिक सहयोगमा सो कार्यक्रम सञ्जालित छ ।

देवारतोली खानेपानी योजना समितिका अध्यक्ष हरिचन्द्र विक गाउँका अब खानेपानीको सङ्कट अन्त्य भएको बताउँछन् । उनले भने, ‘गाउँभन्दा करिब चार किलोमिटर माथिको जङ्गलको मुहानबाट पानी ल्याएर ट्याङ्कीमा सङ्कलन गरेका छौँ, ट्याङ्की बनाउनदेखि घरघरमा धारा बनाउन नगरपालिका र रेडक्रसले सहयोग गर्यो, यसमा हामी खुसी छौँ ।’

‘एक घर एक धारा’को सुविधाले महिलाको समय बचत भएको छ । बालबालिकाल पढ्ने समय पाउँदा शैक्षिक गुणस्तरसमेत वृद्धि भएको देखिएको छ ।

सम्बन्धित समाचार