काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नै पुनर्स्थापित गर्ने अन्तरिम आदेश दिएको छ ।
जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका कुलमान घिसिङले आफ्नो बर्खास्तीपछि प्राधिकरणका निर्देशक बनेका शाक्यमाथि रिस पोख्दै जल तथा ऊर्जा आयोगमा सरुवा गरिदिएका थिए । आफ्नो सरुवा भएसँगै शाक्य सर्वोच्च अदालत पुगेका हुन् ।
उक्त रिटउपर सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापना गर्ने गरी आदेश दिएको हो ।
गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई जल तथा ऊर्जा आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने निर्णय गरेको थियो । योसँगै प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गरेको थियो ।
रिटउपर २१ कात्तिकमा न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेका थिए । तर, मुद्दालाई प्राथमिकतामा राख्दै ९ मंसिरमा पेशी तोक्न आदेश दिएका थिए ।
शाक्यलाई हटाउने मन्त्रिपरिषद्को निर्णय खारेज गर्ने परमादेशसँगै उनले आफ्नो पूरा कार्यकाल काम गर्न पाउने भएका छन् ।