काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ गराएका हुन् ।
कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त बनेका थिए । उनलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले मंसिर १७ गते राजीनामा दिएका थिए । उनले विश्वासको मत नपाउने भएपछि राजीनामा दिएका हुन् ।
गत कार्तिक २३ गते राति संविधानको धारा १६८ को ३ बमोजिम एमालेका यादव मुख्यमन्त्री नियुक्त हुँदा सात दलीय गठबन्धनले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।