हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु

0 Shares

बागमती । बागमती प्रदेशको राजधानी रहेको हेटौँडाको मुख्य सडक विस्तारका लागि आज बिहानदेखि सडक सीमाभित्रका भौतिक संरचना भत्काउन सुरु गरिएको छ ।

सडक डिभिजन कार्यालय हेटौँडाले आज बिहानैदेखि जेसिबी प्रयोग गरेर हेटौँडाको मुख्य बजार क्षेत्रको २५/२५ गज विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु गरेको हो ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगर १० राप्ती रोडमा जेसिबी प्रयोग गरी भौतिक संरचनाहरू हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय हेटौँडाका गुरूप्रसाद अधिकारीले जानकारी दिए ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत हेटौँडाको रातमाटेदेखि बुद्धचौक हुँदै राप्ती खोला पुलसम्म तथा त्रिभुवन राजपथअन्तर्गत बुद्धचौकदेखि सामरी पुलसम्मको सडकखण्डमा सडकको मध्य भागबाट दायाँबायाँ २५/२५ गजभित्र निर्माण भएका स्थायी र अस्थायी घर टहरा तथा अन्य संरचना १५ दिनभित्र हटाउन सडक डिभिजन कार्यालय हेटौँडाले गत मंसिर ५ गते सार्वजनिक सूचना जारी गरेको थियो ।

तोकिएको समय सीमाभित्र धनीले त्यस्तो भौतिक संरचना नहटाएकाले कार्यालयले डोजर प्रयोग गरेर संरचनाहरू हटाउन थालिएको प्रमुख अधिकारीले बताए । सडक खाली गराउने क्रममा स्थानीयबाट अवरोध हुन सक्ने सम्भावना रहेकाले सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।

सम्बन्धित समाचार