म्याग्दी । म्याग्दीको बेनी-दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका ४ र मंगला गाउँपालिका २ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग२ख ०८४० नं को ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट सोमबार बिहान ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका ८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खसेका थिए ।
प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिंगा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो ।
निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।
उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त छ । नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ ।