पञ्जाब र कोलकाताको खेलमा बनेका रेकर्ड- ४२ छक्कादेखि सबै ओपनरले बनाए अर्धशतक

0 Shares

काठमाडौं । पञ्जाब किंग्सले टी २० क्रिकेटको इतिहासमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्न टोलीको रेकर्ड बनाएको छ ।

शुक्रबार राति भएको इण्डियन प्रिमियर लिग (आईपीएल)को ४२ औँ खेल खेल्दै पञ्जाबले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दा उक्त रेकर्ड बनाएको हो ।

कोलकाताको घरेलु मैदानमा भएको खेलमा पञ्जाबले २६२ रनको लक्ष्य मात्र दुई विकेटको क्षतिमा ८ बलअगाडि पूरा गरेको हो । यो खेलमा बनेको रेकर्डहरू यस्ता छन्ः

२६२ रनको लक्ष्य – कोलकाताविरुद्ध पञ्जाबले पूरा गरेको लक्ष्य । टी २० क्रिकेट इतिहासमा कुनै पनि टोलीले पछ्याएको यो सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि सन् २०२३, मे २६ मा दक्षिण अफ्रिकाले वेस्ट इण्डिजविरुद्ध २५९ को लक्ष्य पूरा गरेको थियो ।

४२ छक्का – कोलकाता र पञ्जाबको खेलमा दुवै टोलीले हानेको छक्काको संख्या । एउटै टी २० खेलमा प्रहार भएको सबैभन्दा धेरै छक्का हो । यसअघि आईपीएलको यही सिजनमा सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स तथा रोयल च्यालेन्जर्स बैंगलुरु र हैदराबादबीचको खेलमा ३८ वटा छक्का प्रहार भएका थिए ।

२४ छक्का – कोलकाताविरुद्ध पञ्जाबले हिर्काएको छक्का । टी २० क्रिकेटमा कुनै पनि टोलीले प्रहार गरेको सर्वाधिक दोस्रो छक्का हो । यसअघि नेपालले गत वर्ष मंगोलियाविरुद्ध २६ वटा छक्का प्रहार गरेको थियो । पञ्जाबले हानेको छक्का आईपीएलमा भने सर्वाधिक हो ।

५२३ रन – दुवै टोलीले बनाएको कूल रन । टी २० इतिहासमा एउटै खेलमा दुई टोलीले बनाएको सर्वाधिक दोस्रो धेरै रन हो । यसअघि यही आईपीएलमा हैदराबद र बैंगलुरुबीचको खेलमा ५४९ रन बनेको थियो ।

४ ओपनर – कोलाकाता र पञ्जाबका चारै ओपनरले अर्धशतक बनाए । फिल साल्ट (७५), सुनिल नरेन (७१), प्रभसिमरन सिंह (५४) र जोन बेयर्सटो (१०८) रन बनाए । आईपीएलका खेलमा चारै ओपनरले अर्धशतक बनाएको यो पहिलो अवसर हो ।

७ पटक लक्ष्य पूरा – पञ्जाबले दुई सयभन्दा बढी रनको लक्ष्य पूरा गरेको अवसर । टी २० क्रिकेटमा कुनै पनि टोलीका लागि यो कीर्तिमान हो । क्वेट्टा ग्लाडिएटर्स, मुम्बई इन्डियन्स, भारत र अस्ट्रेलियाले ५–५ पटक यो उपलब्धि हासिल गरेका छन् ।

सम्बन्धित समाचार