काठमाडौँ । नेकपा एमालेले दाहोरो चरित्र देखाएको छ । सुशिला कार्की नेतृत्वको सरकार बनेको झण्डै तीन महिनापछि मंगलबार एमालेले संसद पुनस्र्थापनाको रिट सर्वोच्च अदालतमा दायर गरेको हो । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार जेनजी आन्दोलनबाट अपदस्त भएको तीन महिनापछि संसद पुनस्र्थापना माग गरेको हो ।
कार्की नेतृत्वको सरकारले निर्वाचन घोषणा गरेको तीन महिनापछि एमालेले मंगलबार नै दल दर्ताको निवेदन दिएको आयोगका एक कर्मचारीले बताए । गत भदौ २७ गते कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको थियो । आयोगले दल दर्ता गर्न दिएको समय भोलि सकिँदै थियो त्यसको ठिक एक दिन अघि दल दर्ता गर्न निवेदन दिएको हो ।
एमाले नेता निरज आचार्यले सबै प्रकारका चुनावका लागि कानूनी प्रक्रिया पूरा गरेर बस्ने पार्टीको निर्णय भएकाले दल दर्ता गरिएको बताए । सोमबारसम्म ६४ दलले निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेका थिए । एमाले ६६ नम्बरमा दर्ता भएको हो । दल दर्तापछि आचार्यले चुनाव जहिले भएता पनि आफूहरू तयार रहेको र यस अन्तर्गत निर्वाचन प्रयोजनका लागि दल दर्ता गरिएको उनले जानकारी दिए ।
एमालेले प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै सर्वोच्च अदालतमा मंगलबारै रिट दायर गरेको छ । असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको रिट दायर गरेको विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौलाले बताए । केही दिनअघिको विघटित प्रतिनिधिसभा संसदीय दलको बैठकले प्रधानमन्त्री कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन कदम संविधान र लोकतन्त्रविपरीत ठहराएको थियो । उक्त कदम सच्याउन प्रतिनिधिसभा पुनस्र्थापनाका लागि सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्ने निर्णय गरिएको थियो । ओलीले पुनस्र्थापनाका लागि सर्वोच्चमा रिट दायर गर्ने जिम्मा महेश बर्तौला र सुनिता बराललाई दिएका थिए ।
संसद पुनस्र्थापनाको सर्वोच्च अदालतमा निवेदन र निर्वाचनमा जान निवेदन एकै दिन दिएपछि एमालेले दोहोरो चरित्र देखाएको विश्लेषण हुन थालेको छ । एमाले बाहेक सबै दल निर्वाचनमा जान तयारी थालिसकेका छन् । त्यसका लागि आन्तिरिक प्रशिक्षण भेला, छलफल जारी राखेका छन् । यसअघि संसदको सबैभन्दा ठुलो दल कांग्रेसले निर्वाचनमा जाने निर्णय गरी सकेको छ । संसद पुनस्र्थापनामा जान नहुनेमा कांग्रेस एक देखिएको छ ।
नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत दल निर्वाचनमा जान तयारी थालेका छन् । एमालेले तीन महिनापछि संसद पुनस्र्थापना गर्न निवेदन दिएपछि दलका नेता कार्यकर्ताहरु चकित परेका छन् ।