आगो निभाउन जाँदा एक जनाको मृत्यु, दुई घाइते

0 Shares

काठमाडौं । बागलुङमा आगलागीमा परी एक जानको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

जिल्लाको तमानखोला गाउँपालिका २ सिल्गुममा आगालगी हुँदा स्थानीय ४८ वर्षीय देवसिंह कामीको मृत्यु भएको हो । सोही ठाउँका ३१ वर्षीय ज्ञानबहादुर बुढा मगर र ३३ वर्षीय प्रेमबहादुर घर्ती मगर घाइते भएका हुन् ।

शुक्रबार बिहानदेखि सिल्गुमस्थित रानीवन सामुदायिक वनमा लागेको आगो नियन्त्रणका वनमा पुगेका कामीको आगोको लप्कोले भेट्दा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार सुनारले जानकारी दिए ।

विहान ११ बजेदेखि बेपत्ता भएका कामीको दिउँसो २ बजे शव फेला परेको उनको भनाइ छ । घाइते बुढा मगर र घर्ती मगरलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको प्रहरी निरीक्षक सुनारले बताए । घाइते दुई जनाको शरीरका विभिन्न भाग जलेको उनी बताउँछन् ।

शवलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको सुनारले बताए । आगलागीमा परी एक घर र दुई गोठ नष्ट भएको उनको भनाइ छ ।

सम्बन्धित समाचार