काठमाडौं । कक्षा १२ परीक्षा देशभर एकैसाथ सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरे । उनका अनुसार यस वर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।
त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका छन् । देशभरका पाँच हजार ५४२ विद्यालयका विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने छन् ।
परीक्षाका लागि बोर्डले देशभर एक हजार ५२५ परीक्षा र देशबाहिर जापानमा एक गरी कूल एक हजार ५२६ परीक्षा केन्द्रमा निर्धारण गरेको उनले जानकारी दिए । सबैभन्दा बढी काठमाडौंमा १४४ र मनाङ÷मुस्ताङमा एक÷एक वटा परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, कर्मचारी, कार्यालय सहयोगी गरी ३४ हजार १७१ जनशक्ति र १८ हजार तीन सय प्रहरी परिचालन हुने भएका छन् ।