माओवादीसहित नौ दल एकता हुँदै, नौ घटक अझै बाहिर

0 Shares

काठमाडौँ । नेकपा माओवादी २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पहिलो शक्तिको रूपमा उदायो । नेपाली काँग्रेस, नेकपा एमालेलगायत दलभन्दा माओवादी दोब्बरले भन्दा ठूलो शक्ति थियो । २०६९ सालदेखि विभाजन हुन थालेको माओवादी अझै रोकिएको छैन ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा माओवादी तेस्रो शक्ति भएपछि विभाजनले थप गति लिन थाल्यो । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निरन्तर जोड्ने प्रयास गरे पनि धेरै माओवादी घटक बाहिरै छन् ।

प्रचण्डले एकता गरेर माओवादी घटकलाई जोड्न निरन्तर प्रयास गर्दै आएका छन् । उनले माओवादी कुनै नेतालाई कारबाही गरेर निकालेका होइनन् । प्राय सबै नेताहरु आफूलाई क्रान्तिकारी देखाउँदै छोड्ने गरेका हुन् ।

माओवादी केन्द्रका संयोजक प्रचण्डले कात्तिक १९ गते अर्थात् भोलि नौ माओवादी घटकसँग एकता गर्न थालेका छन् । माओवादी सहित नेकपा एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी, एमालेबाट विद्रोह गरेका प्रेमबहादुर सिंह, राजु कार्कीको नेकपा समाजवादी, सुवास काफ्लेको जनसमाजवादी पार्टी, गोपाल किराँती नेतृत्वको देशभक्त समाजवादी मोर्चा, विप्लवबाट छुट्टिएको चिरन पुन नेतृत्वको नेकपा, कर्णजीत बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी छन् । माओवादीसहित नौ दलबाट नयाँ पार्टीको संयोजकमा प्रचण्ड सहसंयोजक माधवकुमार नेपाल रहेका छन् ।

माओवादी घटक जति विभाजन भए पनि धेरै नेता कार्यकर्ता, शुभचिन्तक भने प्रचण्डलाई छोडेका छैनन् । मूल नेतृत्व प्रचण्डकै वरिपरि घुमेकाले संस्थापनको रूपमा अरू फुटेर गएका पार्टी हुन पाएका छैनन् ।

माओवादी घटक नौ दल एकता हुँदा अझै नौ दल बाहिरै रहने भएका छन् । माओवादीबाट छुट्टिएको विप्लव नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी (नयाँ शक्ति), धमेन्द्र बास्तोला नेतृत्वको नेकपा(बहुमत), सिपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको वैज्ञानिक समाजवादी छन् ।

जनार्दन शर्माले आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् भने् रामबहादुर थापा लगायतको माओवादी गुटको रूपमा एमालेमा सक्रिय भई लागेका छन् ।

माओवादीबाट विभाजित शक्तिहरू अझै नौ पार्टी बाहिरै भए पनि सबै एक ठाउँमा आउन सक्ने अवस्था छैन । कम्युनिस्ट नेताभित्रको इगो र प्रतिष्ठाको लडाइकै कारण विभाजित भएपछि मिल्न निक्कै सकस हुने गरेको छ ।

अझै पनि सबै फुटेका माओवादी एक भए सबैभन्दा ठूलो शक्ति हुने राजनीतिक विश्लेषक सुरेन्द्र केसी बताउँछन् । माओवादी धेरै फुट्दा कमजोर भएकाले एक जुट भए अरू कुनै पार्टीले भेट्न नसक्ने उनले बत्ताउँछन् ।

तर, जेनजी आन्दोलनपछि माओवादी एक भए पनि राजनीतिक रूपमा बलियो शक्ति हुने सम्भावना भने कम हुँदै गएको छ ।

 

सम्बन्धित समाचार