काठमाडौं । वीरगञ्ज महानगर १७ स्थित अलौमा मंगलबार बिहान आगलागी हुँदा सात वटा घर जलेका छन् ।
वीरगञ्ज महानगर १७ का महेन्द्र सहनीको फुसको घरमा बिजुली चुहिएर सल्किएको आगो नजिकका सात घरमा फैलँदा ५४ लाख बराबरको क्षति भएको वीरगञ्ज महानगर १७ का वडाध्यक्ष राजीबबहादुर क्षेत्रीले बताए ।
“सात जनाको फुसको घरसहित अन्य लत्ताकपडा र भाँडाकुँडा पनि जलेको छ,” उनले भने, “ठूलो आगलागी भएकाले पनि तत्कालै नियन्त्रण गर्न सकेनौँ, फुसको घरमात्रै होइन, गाई गोठलगायत संरचना पनि नष्ट भएका छन् ।”
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले दुई वटा दमकमको सहायताले दुई घण्टामा आगो निभाइएको बताए ।
वडाध्यक्ष क्षेत्रीले वडा कार्यालयसँग पर्याप्त बजेट नभएकाले विषद् व्यवस्थापन समितिमार्फत तत्कालै राहत प्रक्रिया अघि बढाइने बताए ।
यही वैशाख ८ गते सीमावर्ती भारतको गहुँ खेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका १ भलमहिया बस्तीका १५ किसानको बालीसहितको घर जल्दा १२ करोड ८४ लाख बराबरको क्षति भएको थियो ।