काठमाडौं । आज कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी दुई दिने नेपालको राजकीय भ्रमण आउँदै छन् । दुई दिने भ्रमणमा उनी मंगलबार अपराह्न काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका राजा थानीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न स्वयं राष्ट्रपति जाने छन् । कतारी अमिरको राजकीय भ्रमणका क्रममा उनको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिने बताइएको छ ।
नेपाल सरकार, मन्त्रिपरिषद् बैठकले उनको नेपाल भ्रमण कार्यक्रम स्वीकृत गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । साथै सरकारले कतारसँग हुने द्विपक्षीय वार्तामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने निर्णय गरेको छ ।
कतारी अमिरले मंगलबार नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले उनको सम्मानमा सोही साँझ राजकीय भोजको आयोजना गर्ने छन् ।
कतारका अमिर शेख थानीले यही वैशाख १२ गते प्रधानमन्त्री दाहालसँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताहरूले द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा उपस्थित हुने छन् ।
कतारी राजा आउँदै गर्दा विमानस्थल पनि आधा घण्टा बन्द गरिने भएको छ । विमानस्थलका अनुसार उक्त समयमा सबै प्रकारको उडान बन्द गरिने जनाएको हो ।