काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आज सुदूरपश्चिम विश्वविद्यालयको चौथो दीक्षान्त समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि कतारका अमिरले खेल्न सक्ने भूमिकालाई एजेन्डामा राखिएको बताए ।
“प्रभावित विद्यार्थीलाई स्वदेश ल्याउन सरकारले तदारुपतापूर्वक भूमिका निर्वाह गरिरहेको छ,” दाहालले भने, “आजै बिहान मात्रै कुवेतको एउटा टेलिभिजन अन्तर्वार्तामा मैले कतारले जोशीको रिहाइका लागि गर्नसक्ने भूमिकाबारे बोल्दै त्यस पहलका लागि माग समेत गरेको छु ।”
सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विज्ञान संकायबाट ‘सिक्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल गएर काम गरिरहेको अवस्थामा प्यालेस्टाइन विद्रोहीको आक्रमणबाट विद्यार्थीहरुले ज्यान गुमाएको उक्त घटनाले निकै दुःखी तुल्याएको उनको भनाइ थियो ।
त्यसैगरी सम्बोधनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालय शिक्षा औपचारिक र सैद्धान्तिक मात्र नभइ, व्यवहारिक, जीवन उपयोगी तथा सामाजिक रुपान्तरणका लागि सहयोगी हुनु सक्नु पर्ने बताए ।