काठमाडौं । चालु आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा ३ खर्ब बढीको बस्तु तथा सेवा आयत भएको छ । चालु आवको साउन र भदौ महिनामा ३ खर्ब ५ अर्ब १५ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको भन्सार विभागले जनाएको छ ।
गत आवको सोही अवधिमा २ खर्ब ६२ अर्ब ५४ करोड २६ लाख रुपैयाँको बस्तु तथा सेवा आयात भएको थियो । तुलनात्मक रुपमा आयात १६।२३ प्रतिशतले वृद्धि भएको छ ।
यो अवधिमा १२१ वटा देशबाट उक्त मात्रामा बस्तु तथा सेवा आयात भएको हो । जसमध्ये सबैभन्दा धेरै भारतबाट १ खर्ब ७३ अर्ब ५४ करोड रुपैयाँको आयात भएको छ । यसैगरी, चिनबाट ६५ अर्ब १७ करोड, अर्जेन्टीनाबाट १८ अर्ब ७० करोड, अमेरिकाबाट ६ अर्ब १२ करोड, यूएईबाट ४ अर्ब ३५ करोड र ईण्डोनेसियाबाट ३ अर्ब ८१ करोड रुपैयाँको बस्तु तथा सेवा आयात भएको हो ।
यसैगरी, ब्राजिलबाट ३ अर्ब ४८ करोड, क्वातारबाट २ अर्ब ७७ करोड, क्यानाडाबाट २ अर्ब १८ करोड, थाइल्याण्डबाट २ अर्ब ५ करोड र जापानबाट २ अर्ब १ करोड रुपैयाँको आयात भएको छ ।
८८ प्रतिशतले बढ्यो निर्यात
यो अवधिका ८८.५७ प्रतिशतले निर्यात वृद्धि भएको छ । गत वर्षको २ महिनामा २५ अर्ब ९ करोड रुपैयाँ निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ४७ अर्ब ३१ करोड रुपैयाँको निर्यात भएको छ ।
कुल वैदेशिक व्यापारसँगै व्यापार घाटा पनि वृद्धि भएको छ । कुल वैदेशिक व्यापार २२.५४ र व्यापार घाटा ८.५९ प्रतिशतले वृद्धि भएको हो ।
भटमासको तेलको निर्यात वृद्धि हुँदा यस निर्यातमा सकारात्मक प्रभाव परेको हो । यो अवधिमा २० अर्ब ४२ करोड रुपैयाँ बढीको भटमासको तेल निर्यात भएको छ । जुन कुल निर्यातको ५६.८४ प्रतिशत हो ।