कार्की नेतृत्वको सरकारमा केही दिन भित्रै नयाँ मन्त्रीको प्रवेश हुने

0 Shares

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारमा केही दिनभित्रै नयाँ मन्त्रीको प्रवेश हुने भएको छ । जेनजी आन्दोलनकर्मीसँग परामर्श गरेर मन्त्रीहरुको टुंगो लगाउने तयारी गरिएको हो । प्रधानमन्त्री सहित २२ मन्त्रालय भए पनि कार्की नेतृत्वको सरकारले ११ मन्त्री मात्रै बनाउने तयारी गरेको हो ।

प्रधानमन्त्रीले मन्त्री हुन इच्छुक व्यक्तिसँग परामर्श जारी राखेकाले केही दिनभित्रै नयाँ मन्त्रीको प्रवेश हुने एक मन्त्रीले बताए । ‘यो सरकार अन्तरिम हो । यो लामो समय जाने अवस्था छैन । फागुन २१ गते निर्वाचन गराउन बनेको हो । आवश्यक मन्त्रालय मात्रै राखेर सरकार चलाउने योजना छ’ ति मन्त्रीले भने, ‘प्रधानमन्त्री स्वच्छ क्षवि भएका योग्य व्यक्तिलाई मन्त्री बनाउने तयारी गर्नुभएको छ । सबैपक्षसँग छलफल गरेर एक/दुई दिनभित्र नयाँ मन्त्रीको टुङ्गो लाग्ने छ ।’

असोज ३ गते संविधान दिवस, असोज ४ गते शनिबार भएकाले नयाँ मन्त्रीका बारेमा सबै मिलेमा आइतबार हुन सक्ने आकलन गरिएको छ ।

संविधान विद भीमार्जुन आचार्य, डा.सन्दुक रुइत लगायत व्यक्तिले मन्त्री बन्न अस्वीकार गरी सकेका छन् । हाल अर्थ मन्त्री रामेश्वर खनाल, गृह, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा ओमप्रकाश अर्याल, उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय, भौतिक मन्त्रालय र सहरी विकास मन्त्रालयको कुलमान घिसिङले सम्हालेका छन् ।

अरु १५ मन्त्रालय प्रधानमन्त्री आफैले जिम्मेवारी सम्हालेकी छन् ।

सम्बन्धित समाचार