काठमाडौं । नेपाल र यूएईबीचको खेल आज हुँदैछ । ओमानमा जारी एसिसी प्रिमियर कपको सेमिफाइनलमा यी दुई चीरप्रतिद्वन्द्वी आज ११ः४५ बजे भिड्ने भएको हो ।
नेपाल र युएईबीचको खेल सधै प्रतिस्पर्धात्मक हुने गर्छ । आजको खेलमा विजेता फाइनलमा प्रवेश गर्ने भएकाले यो खेल जित्नु दुवैका लागि महत्वपूर्ण हुनेछ ।
प्रिमियर कपअन्तर्गत समूह चरणका सबै खेल जित्दै नेपाल विजेताका रुपमा सेमिफाइनल पुगेको हो । नेपालले समूह एको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ८ विकेट र अन्तिम खेलमा साउदी अरेबियालाई ६ विकेटले हराएको थियो ।
यूएई घरेलु टोली ओमानसँग पराजित भएको थियो । ओमानसँग ९ विकेटले पराजित यूएईले बहराइनलाई ३७ रनले हराएको थियो । कुवेतलाई सात विकेटले हराएको थियो भने कम्बोडियामाथि ९ विकेटको जित निकाल्दै नेपालसँगको भेट पक्का गरेको हो ।
टी–२० अन्तर्राष्ट्रियमा नेपाल र युएईबीच अहिलेसम्म नौ खेल भएका छन् । नेपालले पाँच खेल जित्दा युएईले चार खेल जितेको छ । एक दिवसीयमा नेपालले सबैभन्दा बढी युएईसँग खेलेको छ । युएईसँग १५ एक दिवसीय अन्तर्राष्ट्रिय खेल्दा नेपालले नौ खेल जितेको छ भने ६ खेल गुमाएको छ ।
नेपालको प्लेइङ ११ कप्तान रोहित पौडेलसहित आसिफ शेख (विकेट किपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि.सी. र अभिनाश बोहरा छन् ।