के माधव र विप्लवले पार्टी एकता बारे निर्णय गर्छन् ?

0 Shares
काठमाडौँ ।  नेकपा एमालेलाई चुनौती दिन नेकपा माओवादी केन्द्र सहित नेकपा एकीकृत समाजवादी, नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी एकता गर्ने गरी छलफल अघि बढाएका छन् । समाजवादी मोर्चा मार्फत सहकार्य गर्दै आएका चार पार्टी एकता गर्ने गरी छलफल अघि बढाएका हुन् ।
एकीकृत समाजवादीको आगामी भदौ २६ गतेदेखि केन्द्रीय समिति बैठक बस्दै छ । उता नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भोलि अर्थात् भदौ २३ गतेदेखि केन्द्रीय समिति बैठक बस्न लागेको छ । पार्टी एकता गर्ने गरी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव विप्लव, नेसपा अध्यक्ष यादव लगायत नेताहरूले धेरै चरणमा छलफल गरी सकेको एक माओवादी नेताले जानकारी दिए । ‘रास्वपा सहित काँग्रेस एमाले बलियो हुँदै गएका छन् । ती पार्टीलाई चुनौती दिने गरी मोर्चाका सहभागी नेताहरू एकता गर्ने गरी धेरै चरणमा छलफल भई सकेको छ’ ती नेताले भने, ‘शीर्ष नेताहरू बिच धेरै चरणमा छलफल भएपछि आ– आफ्नो पार्टीमा छलफल गरेर एकताको निर्णय गर्ने भएका छन् ।’
मोर्चाका सहभागी भएको एकीकृत समाजवादीमा सम्मानित नेता झलनाथ खनालले भने ठुलो विवाद झिकेका छन् । माओवादी लगायत दलसँग एकता नगरी एमालेसँगै जानुपर्ने मत राख्दै आएका छन् । यदी एकीकृत समाजवादीले मोर्चामा सहभागी दलसँग एकता गर्ने निर्णय गरेमा ठुलो पंक्ति एमालेमै फर्किने नेताहरूले आकलन गरेका छन् ।
विप्लवसँग एकता गर्न भने माओवादीले वार्ता समिति बनाइ सकेको छ । माओवादीले स्थायी समितिबाटै वार्ता समिति बनाएर विप्लवलाई पत्राचार समेत गरी सकेको छ । पत्रको जवाफमा विप्लवले एकता गर्न सकारात्मक छौ भनेर प्रतिक्रिया दिई सकेको छ ।
तर, पार्टी बैठकले एकताको विषयमा कस्तो निर्णय गर्छ भन्ने विषयलाई महत्वको साथ हेरिएको छ । मोर्चामा सहभागी दलहरू बिच सकारात्मक वातावरण बन्दै गएमा आगामी असोज ३ गते एकता गर्ने समझदारी गरेका छन् । यद्यपि एकता गर्ने गरी बलियो धरातल भने बन्न सकेको छैन ।

सम्बन्धित समाचार