खबर विन्दुको सम्पादकमा सतिश आचार्य नियुक्त

0 Shares

काठमाडौं । खबर विन्दु डटकमको सम्पादकमा वरिष्ठ पत्रकार सतिश आचार्य नियुक्त भएका छन् । खबर विन्दु प्रा.लि.को व्यवस्थापन समितिको आइतबारको बैठकले आचार्यलाई सम्पादक नियुक्त गरेको हो ।

लामो समयदेखि पत्रकारितामा सक्रिय आचार्यले सम्पादकको जिम्मेवारी लिएको कम्पनीले जनाएको छ । सम्पादक नियुक्त भएलगत्तै आचार्यले सूचना प्रविधिको विकाससँगै सामूहिक नेतृत्वमा अनलाइन मिडियालाई नयाँ उचाई हासिल गरिने प्रतिवद्धतता व्यक्त गरे ।

‘पत्रकारिता एउटा व्यक्तिले मात्रै गर्ने पेसा होइन, सामूहिक प्रयत्नबाट सफल हुने भएकाले मेरो नेतृत्वको टिमले पत्रकारिता क्षेत्रमा खोजमूलक समाचार पस्कने छ,’ आचार्यले भने, ‘अहिले आउने गरेको सूचनाको बाढीमा खबर विन्दु मिडियाले सत्य, तथ्य र विश्वसनीय सूचना पस्किएर पाठकमा स्थापित गर्न प्रयत्न गर्ने छ ।’

पाकिस्तानको लाहोरस्थित युनिर्भसिटी अफ पञ्जाबबाट आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर गरेका आचार्यसँग पत्रिका, रेडियो, नेपाल टेलिभिजन पत्रकारितामा लामो समय काम गरेको अनुभव छ । २०६३ साल दाङबाट प्रकाशित हुने गणतान्त्रिक गर्जन मासिक, नौलो जनाउभार साप्ताहिक हुँदै रेडियो गणतन्त्रमा काम गरेको अनुभव छ ।

यस्तै, पश्चिम नेपालको प्रतिष्ठित युगबोध दैनिक पत्रिकामा स्तम्भकारको रुपमा काम गर्दै तीन वर्ष शिक्षण पेसा अंगालेका थिए । पत्रकारिता गर्ने सिलसिलामा आचार्यसँग बाँकेको आरोग्य मिडिया हुँदै कोहलपुर रेडियोमा समाचार प्रमुखको रुपमा काम गरेको अनुभव छ ।

त्यसलगत्तै आचार्य काठमाडौं आएपछि नेपाल टेलिभिजनमा खोज रिर्पोटिङ, अन्तर्वार्ता सम्पादनमा सक्रिय भई पत्रकारिता गरेका थिए ।

खबर विन्दुका सम्पादक प्रेम कुमार श्रेष्ठले राजीनामा दिएपछि आइतबारदेखि लागू हुने गरी आचार्यलाई सम्पादकको जिम्मेवारी दिएको छ ।

सम्बन्धित समाचार