रोपाइँको बेला अभाव भएको रासायनिक मल सरकारले बल्ल भित्र्याउन थाल्यो, किसानमा निराशा

0 Shares

काठमाडौँ । धान रोपाइँको बेला अभाव भएको रासायनिक मल रोपाइँ सकिएपछि मात्रै नेपाल भित्रिन थालेको छ। सरकारी कम्पनीहरू कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनले अहिले मल आयातलाई तीव्रता दिएका छन्, तर किसानहरूमा यसको कुनै उत्साह छैन ।

किसानहरू व्यंग्य गर्दै भन्छन्, ‘चाहिने बेलामा नपाइएको मल, काम सकिएपछि आइपुग्दा त्यसको महत्त्व हुँदैन ।’

आयात र मौज्दातको अवस्था

साल्ट ट्रेडिङ कर्पोरेसनका सूचना अधिकारी कुमार राजभण्डारीका अनुसार, कम्पनीसँग अहिले करिब २५ हजार टन मल मौज्दात छ । गत वर्षको १५ हजार टन युरिया र २९ हजार १५० टन डीएपी पनि नेपाल भित्रिने क्रममा छन् । यद्यपि, ७ हजार ५०० टन पोटास भारतमा अड्किएको छ, किनभने नेपाल ल्याउन ‘रि(एक्स्पोर्ट लाइसेन्स’ आवश्यक पर्छ।

कृषि सामग्री कम्पनीका सूचना अधिकारी विष्णु पोखरेलले भने कम्पनीसँग हाल १५ हजार ९०० टन युरिया, २१ हजार टन डीएपी र ४ हजार ३९४ टन पोटास मौज्दात रहेको जानकारी दिएका छन् । हालै टेन्डर गरिएको कुल ९० हजार टन मलमध्ये ३० हजार टन डीएपी नेपाल आइपुगेको छ।

माग र बजेटको खाडल

नेपालमा वार्षिक १३ लाख टन मलको आवश्यकता पर्छ, तर सरकारले यस वर्ष ६ लाख टन मल खरिद गर्ने लक्ष्यसहित २८ अर्ब ८२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यो बजेटले मुस्किलले ५ लाख टन मल खरिद गर्न सकिन्छ । पोखरेलका अनुसार, यही माग र आपूर्तिबीचको खाडलका कारण मलको अभाव सधैँ रहने गर्छ ।

आयातमा लामो समय र बढ्दो मूल्य

रासायनिक मल नेपाल भित्रिन करिब ७ महिना लाग्छ, किनभने टेन्डर प्रक्रिया र अन्य कानुनी प्रक्रियाहरू लामो हुन्छन्। यसबाहेक, अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढेकाले सरकारले छुट्याएको बजेटले पर्याप्त मल किन्न नसकिएको पोखरेलले बताए ।

सम्बन्धित समाचार