दुसित थानी हिमालयन रिसोर्टको आईपीओ निष्कासनका लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक नियुक्त

0 Shares

काठमाडौँ । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) ले आफ्नो साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। यससम्बन्धी सम्झौतामा आज एक समारोहबीच दुवै कम्पनीले हस्ताक्षर गरेका छन्।

सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको तर्फबाट प्रबन्ध निर्देशक रमेश कुमार हमाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नुभयो। सम्झौता अनुसार, सिटिजन्स क्यापिटलले दुसित थानी हिमालयन रिसोर्टको प्राथमिक सेयर सार्वजनिक निष्कासनका लागि बिक्री प्रबन्धकको रूपमा कार्य गर्नेछ। सो अवसरमा कम्पनीका प्रमुख विदेशी लगानीकर्ता विष्णु मोरको पनि उपस्थिति रहेको थियो।

सन् २०२३ को चौथो त्रैमासिकदेखि सञ्चालनमा आएको दुसित थानी हिमालयन रिसोर्ट काभ्रेपलाञ्चोक जिल्लाको पात्लेखेत, धुलिखेलमा अवस्थित थाइल्यान्डको प्रसिद्ध होटल चेन दुसित इन्टरनेसनलको एक प्रमुख लक्जरी रिसोर्ट हो। हिमालय र उपत्यकाका मनोरम दृश्यहरू देखिने पहाडको शिरमा रहेको यो रिसोर्ट अन्तर्राष्ट्रिय मापदण्ड र प्रविधि अनुसार निर्माण गरिएको छ। नेपालको पर्यटन विकासमा ‘उच्च मूल्यको एकीकृत रिसोर्ट’ को रूपमा यो रिसोर्ट कोसेढुङ्गा साबित भएको छ र राष्ट्रको ‘उच्च मूल्यको पर्यटन’ (high-value tourism) लक्ष्य प्राप्त गर्न उत्प्रेरकको रूपमा काम गर्ने यसले लक्ष्य लिएको छ।

अन्तर्राष्ट्रिय आतिथ्य चेन दुसित थानीले नेपालसहित १८ वटा देशमा आफ्नो सेवा दिँदै आएको छ। नेपालमा यसको प्रतिनिधित्व ओमस्टोन होटेल्स लिमिटेडले गरेको छ। राजधानी काठमाडौंबाट करिब ३८ किलोमिटरको दूरीमा रहेको यो रिसोर्टमा शान्त र रमणीय वातावरणका कारण विभिन्न संघसंस्थाहरूले सम्मेलन तथा गोष्ठी पनि आयोजना गर्ने गरेका छन्।

सिटिजन्स क्यापिटल लिमिटेडले वित्तीय परामर्श, लगानी व्यवस्थापन (PMS), र म्युचुअल फन्डमा निरन्तर नयाँ सेवाहरू थप्दै ग्राहकहरूलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आएको छ। कम्पनीमा अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ रहेका छन्। नेपाल धितोपत्र बोर्डबाट लगानीकर्तासँग प्रत्यक्ष सरोकारका काम गर्न अनुमति प्राप्त भएको सिटिजन्स क्यापिटलमा सिटिजन्स बैंक, कर्मचारी सञ्चय कोष तथा प्रतिष्ठित उद्योगी व्यवसायीहरूको सह-लगानी रहेको छ।

सम्बन्धित समाचार